चीनतिरै अड्किए नेपालका सामान, अर्बौं लगानी डुब्ने जोखिम


२० कार्तिक २०७७, बिहीबार
Rasuwa Naka

काठमाडौं, २० कार्तिक । नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन् । नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत अड्केको हो ।

चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन । ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो । खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपुर्‍याउँथे ।

दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो। रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग) सम्म नेपाली कन्टेनर जान पाउँथ्यो । ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने ।

पौडेलका अनुसार चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ । मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन् । त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भित्र्याउँदै आएका छन् ।

नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक ५० देखि १ सय कन्टेनरसम्म आउनुपर्ने माग गर्दै आएका छन् । ‘हामी अहिले पनि कोभिड १९ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेका छौं’, पौडेलले भने, ‘हामीलाई मितेरी पुलमै सामान झारिदिए पनि हुन्छ । तर, कम्तीमा दैनिक ५० देखि १ सय कन्टेनरसम्म झारिदिनु पर्‍यो ।’ कनिका छरे जस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण आर्थिक मारमा परेको पौडेलको भनाइ छ ।

नौ महिनादेखि आउन नसकेको करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ भन्ने सोचेर मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ । पौडेलका अनुसार यो विषयमा परराष्ट्रसचिबसँग पटक–पटक छलफल भएको छ । परराष्ट्रसचिव तातोपानी नाका समेत घुमेर आए तर हालसम्म कूटनीतिक रुपमा समस्याको कुनै समाधान भएको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७