यौनको दलनमा नारी ‘चित्कार’


२० कार्तिक २०७७, बिहीबार
bha

यौन सृष्टिको अर्काे सुन्दर नाम हो । जहाँ सिर्जना जोडिएको छ । मूलतः मानव जीवनमा अनिवार्य आवश्यकता भनेर व्याख्या र प्रयोग गरिँदै आएता पनि सामाजिक रूपमा हिचकिचावट तर सर्वस्वीकार्य कुनै कुरा छ भने त्यो यौन नै हो ।

हाम्रो सामाजमा यौन कार्यको लागि नारीको जात, धर्म र वर्ग हेरिंन सौन्दर्य र बैंस मात्र हेरिन्छ । महिलाको सौन्दर्य र बैंस उपयोगिताको हिसाबले हेरिन्छ । जब सामाजिक रूपमा कुनै पनि महिलासँग सामाजिक रीति अनुसार व्यवस्थित यौन जीवन (विवाह) बनाउनका साथै सन्तान जन्माउने स्वतन्त्रतासम्मको कुरो आउँछ तब नारी जात, धर्म र वर्गको ठूलो पर्खालले छेकिन्छे ।

यहि कारण पुरूष यौन स्वार्थका कारण कैयौं महिलाहरू सामाजिक रूपमा बहिष्कार र आत्महत्या गर्न विवश बनाइएका घटनाहरू यत्रतत्र सर्वत्र छ । यौनका कारण नारीलाई वेश्या ठहर्‍याउने समाजले बिना पुरूष नारी मात्र वेश्या हुँदैनन् भन्ने तथ्य भुलेर नारीलाई मात्र वेश्याको आरोप किन थोपारी रहन्छ ? गम्भीर प्रश्न र बहस यहाँ छ ।

कुनै पनि काम दोहोरो संलग्नता बिना सम्भव हुनै सक्दैन भने त्यस काम गर्न सहमति पनि दोहोरो नै हुन जरूर छ । अनि मात्र कुनै पनि काममा आत्मसन्तुष्टि मिल्छ । पुरूष मनोविज्ञानको दमनकारी बोझिलो भारीसँगै दोहोरो सहमति र आत्मसन्तुष्टि बिनाको यौन जीवन हजारौं बर्षदेखि महिलाहरूले घिसार्दै यहाँसम्म आएका छन् । यसो हुनुमा महिलाहरू समाजको सौन्दर्य हुन सक्छ ।

त्यस कारण सुन्दर वस्तुको भोग गर्नुपर्छ भन्ने पुरूष मनोविज्ञानले महिलालाई भोग्य वस्तु सिवाय अरू केहि नठान्नु हो । महिलाको क्षमता बच्चा जन्माउनुमा सीमित गराएर, घरभन्दा बहिर निस्कन पुरूष दम्भ सधैं तगारो बन्यो । धार्मिक, सामाजिक, साँस्कृतिक र पुरूष अहंकारी मनोविज्ञानले महिलामाथि यौन दासता निर्माण गर्‍यो ।

पुरूष त्यसमा पनि एकल जातीय, एकल चिन्तन दम्भको पुरूष सत्ताको गिद्धे दृष्टिकोणले महिला अस्मिता लुछ्नसम्म लुछ्यो । महिला सधै यौनको बधशालामा आफ्नो शरीर पटक–पटक मारिएको पीडामा युगौं छट्पटी नै रहे । फल स्वरूप कोक्रोमा सुतेको नाबालिकादेखि लौरो टेक्ने बृद्धासम्म बर्बर बलात्कारको सिकार हुँदै भाले चिन्तन यौन स्वतन्त्रताको खातिर शरीर आहुती दिएसँगै बिभत्स हत्या हुने यो एकल चिन्तन समाज अपराधीहरूको अखडा हो । पाखण्डी भाले चिन्तनको पराकाष्ठा हो ।

आदिम साम्यवादी समाज मातृ सत्तात्मक थियो । महिलाको स्वतन्त्र समाज थियो जहाँ कुनै विभेदकारी दासत्व थिएन । सन्तानको पहिचान आमाबाट मात्र गर्न सम्भव थियो । जसको तात्पर्य के हो भने खुल्ला यौन व्यवस्था थियो ।

मानव सभ्यताको विकास हुने क्रममा प्राचीन यूनान, सिन्धुघाँटी र मेसोपोटामिया जस्ता महासभ्यता पनि लैंगिक क सामाजिक अवस्था मातृसत्तात्मक थियो । अहिले पनि केही जनजाति समुदायमा मातृ सत्तात्मक लैंगिक सामाजिक व्यवस्था र अवस्था देखिन्छ ।
मानव सभ्यताको विकास चरणमा जब जंगली युगबाट कृषि युगको शुरूवात भयो । त्यसपछि अन्नबाली र पशु धनमाथि मान्छेको लोभ बढ्न थाल्यो । एक गणले अर्काे गणको पशुधन युद्ध गरेर लुट्न थालियो ।

युद्धमा हारेका मान्छेलाई दास बनाउन थालियो । त्यो लुटेर ल्याएको सम्पत्तिको मालिक आफ्नै मात्र छोराछोरी हुन् भन्ने धारणाको विकास भयो । जसको कारण एउटा पुरूषको मात्र सन्तान हुनको लागि एउटा पुरूषले मात्र महिलासँग यौन सम्बन्ध राख्नु पर्‍यो । आफ्नो मात्र सन्तान जन्माउनका लागि अर्काे गणबाट महिलाहरू लुटेर ल्याएर यौन दासी र छोराछोरी जन्माउने मेसिनको रूपमा महिलाको प्रयोग गरिन थाल्यो ।

त्यहींबाट हड्पिंदै आएको महिलाको यौन अधिकार कालान्तरमा आएर जानाजान आफू भन्दा ४–५ दशक कान्छी श्रीमती विवाह गरेर भोग गर्ने अनि श्रीमानको मृत्यसँगै महिला पनि सती जानै पर्ने क्रुर अमानवीय कुसंस्कार निर्माण हुन पुग्यो । यसको एउटै कारण हो आफूले भोग गरेको स्त्री आफूसँगै मर्नुपर्छ । नारी भोग्य वस्तु हो भन्ने कुराको ज्वलन्त उदाहरण यो भन्दा अरू केही हुनसक्छ र ?

महिला यौन दासत्व चरमरूपमा हिन्दु र मुस्लिम समाजमा छ । त्यसमा पनि हिन्दू धर्मग्रन्थहरूमै पुरूष एकल चिन्तन यौन मनोविज्ञान उल्लेख गरिएको प्रशस्तै उदाहरणहरू भेटिन्छ । हिन्दू समाजमा यौनको बारेमा महिलालाई खुलेर बोल्न हालसम्म पनि वर्जित छ । तर हिन्दू धर्मशास्त्रमा व्याख्या गरिएको सत्य, त्रेता, द्धापर युगमा यौनबारे खुलेर चर्चा गरिएको छ । जहाँ नारी भोग्य वस्तुको रूपमा प्रयोग गरिएको प्रष्ट छ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नै छोरी बलात्कार गर्नु, ऋषिले खोला किनारामा माझी कुलको किशोरीसँग यौन सम्पर्कपछि वेदव्यासको जन्म हुनु, माता पार्वती किरातेश्वरीको रूप धारण गरेर जंगलमा बस्दा भगवान शिव किरातेश्वरीको सौन्दर्यमा मोहित भएर हात समाउनु, देवराज इन्द्र स्वर्गका अप्सराहरूमा लिप्त हुनु, कृष्णका सोह्र सय गोपिनी हुनु, रावणले सीता हरण गरेपछि रामले सीताको अग्नि परीक्षा लिनु, द्रौपदीका पाँच पाण्डवसँगको यौन सम्बन्धका किस्साहरू, दुर्योधनको चीरहरणको नीति, स्वस्थानी व्रतकथामा सात बर्षकी गोमाको ७० बर्षीया शिवभट्ट ब्राह्मणसँग विवाह हुनु, चर्चित हिन्दू धर्मग्रन्थ, महाभारतको एक अध्यायमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाबीच खुला स्थानमा यौन क्रिडा चलिरहेको उल्लेख हुनु । महाराजा रञ्जितले अरुले देख्ने स्थानमा यौन सम्बन्ध राख्न रूचाउनु यौन र नारी भोगको ऐतिहासिक उदाहरणहरू हुन् ।

महाभारतको ‘आदिपर्व’ को ६३ औं अध्यायमा पाराशर ऋषि र मत्स्यगन्धा सत्यवतीका बीच खुला स्थानमै सम्भोग गरिएको वर्णन गर्नु । ‘आदिपर्व’ को १०४ अध्यायमा भनिएको छ कि उत्थतका पुत्र दीर्घतमाले सबै मानिसका सामुन्ने नै स्त्रीका साथ सम्भोग शुरु गरेका थिए ।

यसै पर्वको ८३ औ अध्यायमा गुरु पत्नीका साथ सम्भोग गर्नु, पशुहरुका समान यौन क्रीडा गर्ने मलेच्छ मानिसहरुको वर्णन गरिएको पनि पाइन्छ । ऋग्वेदमा भाइ र बहिनी रहेका यम र यमीको बीचमा यौन सम्बन्ध राख्ने विषयमा भएको संवाद राखिएको छ । धर्मशास्त्रअनुसार कामातुर स्त्री एकान्तमा यौन सम्वन्ध गर्ने इच्छा प्रकट गर्छ भने त्यसलाई पूरा गर्नुपर्छ होइन भने धार्मिक दृष्टिकोणबाट यो भ्रुण हत्या हुनेछ । त्यसैले त महाभारतमा उलुपी अर्जुनसँग स्पष्ट भन्छिन्, ‘स्त्रीको इच्छा पूर्तिका लागि एक रात सम्भोग गर्नु अधर्म होइन ।’

‘हरिवंश’ मा महर्षी वशिष्ठकी छोरी शतरुपाले उनलाई पति मानिन र उनीसँग यौन सम्बन्ध स्थापित गरिन् । यसै ग्रन्थमा लेखिएको छ । दक्षले आफना छोरी आफना पिता ब्रह्मदेवलाई दिए जसबाट नारदको जन्म भयो । ‘हरिभविष्य पर्व’ मा ईन्द्रले आफनो नाति जन्मजेयकी पत्नी वपुष्टमासँग सम्भोग गरेको उल्लेख छ । ‘हरिवंश’ मा नै सोमका पुत्र दक्ष प्रजापतिले आफनी छोरीहरु पितालाई दिएको उल्लेख छ । जब जन्मजेयले यस कृत्यलाई अनैतिक भने तब महर्षी वैंशपायनले यसलाई प्राचीन रीति बताए ।

आधुनिक युगको आधुनिक इतिहासको युगमा आइपुग्दा महाराजा रणजीत सिंह हात्तीको हौदमा सबका अगाडि सम्भोग गर्ने गर्थे । पुणेमा बाजीरावको जमानामा ‘घटकचुकी’ नामको एक खेल खेलिन्थ्यो । अभिजात बर्गका छानिएका स्त्री पुरुष रङ्ग महलमा जम्मा हुन्थे ।

त्यहाँ महिलाहरुको चोली एक घैंटोमा हालिन्थ्यो र फेरि जुन पुरुषलाई जुन स्त्रीको चोली हात पथ्र्यो उसले सबैका सामुन्ने त्यस स्त्रीका साथ सम्भोग गथ्र्यो । यस प्रथाको प्रचलन कर्नाटक प्रदेशमा भारत स्वतन्त्र हुनु भन्दा केही पहिलेसम्म थियो । सामुहिक सम्भोग यस्तो आयोजनामा उमेर नातापाता जातिपाति केहि हेरिँदैनथ्यो । प्राचीनकालमा तमिल पनि खुला स्थानमा सम्भोग गर्थे भनेर उल्लेख छ ।

इतिहासका जनक मानिने हेरोडेट्सका शासकहरु जब उनमा संभोगको इच्छा जाग्थ्यो उनीहरुले खुला स्थानमा संभोग गर्थे । वेदहरुमा यज्ञभूमिमा सामूहिक रुपमा कामक्रीडा गरिएको वर्णन पाईन्छ । आज भक्तपुरको दरबार स्क्वार र विभिन्न हिन्दू मन्दिरहरूमा देखिने टुँडालका काम वासनासहितको नग्न तस्बिरहरूले पुष्टि गर्दछ । यौन दासी नारीको प्रतिबिम्ब ।

यिनै जिउँदो इतिहासले प्रष्ट पार्छ इतिहासमा हिन्दु धर्मशास्त्रमा कतिपय स्थानमा यौन प्राकृतिक नियम हो । भनेता पनि यौन पुरूष एकल चिन्तनमा आधारित छ । नारीहरू वस्तुका रूपमा उपयोग हुँदै बेचबिखनु पर्ने अवस्था समकालीन युगसम्म छ । हिन्दू समाज आज पनि खुलेर यौनका कुरा गर्नसम्म वर्जित गर्छ र यौनलाई आज पनि ‘हिडन ट्रउथ’ अर्थात लुकेको सत्य मानिन्छ ।

सामन्तवादी राजसंस्थामा ल्याइते, ब्याइते, रखौटी आदि नाम राखी बहुश्रीमति राख्ने प्रथा साथै दासीहरूसँगको यौन सम्बन्धले इतिहासबाट चलिआएको पुरूष मनोविज्ञानमा आधारित यौन क्रियाकलापको निरन्तरता यथावत पाइयो भने । हाल पूँजीवादी युगमा समेत महिलालाई नांगो बनाएर बेचिनै रहेको छ ।

सामन्ती दरबारीयहरूले गरिब परिवारका किशोरीहरू किनेर यौन दास बनाउने ‘यौन दास प्रथा’ को यथार्थ बताउने बालकृष्ण समद्धारा लिखित नाटक प्रेमपिण्डका आधारमा बनाइएको फिल्म ‘प्रेमपिण्ड’ जस्ता केही नेपाली चलचित्रले समाजमा लुकेका यौन कुण्ठा, पुरूष प्रवृत्तिलाई प्रस्तुत गरेका छन् । भने प्रायः सिने जगतले महिलालाई नांगो बनाएर पूँजी बजारमा बेचिएको छ । यौन प्रकृतिले जैविक रूपमा दिएको एउटा रोग हो जसले मानिसलाई हरेक सीमा पार गराउँछ । जहाँ महिलाहरू दासताबाट प्रताडित छन् । यस दासताबाट कहिले माथि उठ्न सकेका छैनन् ।

विश्व यौन संस्कृतिमा विवाहलाई यौन सम्बन्ध राख्न स्वतन्त्रता छ भन्ने एक बैधानिकता मानिन्छ । कसैको विवाह जानु भनेको तिमीहरू आजको दिनदेखि यौन सम्बन्ध राख्न स्वतन्त्र छौ । सन्तान जन्मउन पनि सक्छौ भनेर साक्षी बस्न गएको न हो । कसैको विवाहमा जानु यहाँभन्दा फरक कुरो रहेन । विवाहलाई हाम्रो समाजमा बन्धन भनिन्छ । आजदेखि विवाह बन्धनमा बाँधियो भनिन्छ ।

मान्छेले त स्वतन्त्रता पो खोज्छ त विवाह बन्धन हो भने किन बाँधिनु पर्‍यो र ? कोठाभित्र पस्न पाउने बाहिर निस्कन चाहिँ नपाउने पनि नियम हुन्छ र ? यो विवाह संस्कार महिलाको लागि काँडे तारको बार र पुरूषको लागि खुल्ला आकाश सो सरह छ ।

हिन्दू विवाह संस्कारमा कन्यादान गरिन्छ । कन्यादानबाट शुरू हुन्छ नारीको यौन दासत्व सुहागरातको ‘भर्जिनीटी’ मापनदेखि छोरा जन्माई कि छोरी ? भन्नेसम्म पुग्छ । विभिन्न कारणले सन्तान जन्माउन सकिन, श्रीमानको चाहना अनुसार यौन सुख दिन सकिन भने बहुविवाह गर्ने पुरूष मनोविज्ञानले कहिले सोच्दैन कि मबाट मेरी श्रीमती सन्तुष्ट छ छैन भनेर ?

हिन्दू धर्म संस्कारले नारीलाई बिम्बको रूपमा देवी मानेर पूजा गर्छ । फेरि यिनै पर्वमा धर्म संस्कार, संस्कृतिले नारीलाई दासत्व थुपार्छ । उदाहरणका लागि ‘तीज’ हिन्दू संस्कृतिको एउटा संस्कार हो जसले विवाहित नारीलाई व्रत बसी शिवलिङ्गलाई पतिको लिङ्गस्वरूप मानी पूजा गर्नुपर्ने पक्षलाई उजागर गर्दछ ।

उता अविवाहित स्त्रीलाई असल र शक्तिशाली पति पाउन व्रत बस्ने र शिवलिङ्गको पूजा गर्नुपर्ने संस्कार छ । ‘पतिब्रता नारी’ धर्मशास्त्रमा धेरै प्रयोग गरिएको शब्द हो तर ‘पत्नीब्रता पति’ कतै प्रयोग भएको पाइँदैन । यसरी सामाजिक र धार्मिक संस्कारले नै पुरूष सुप्रिमोको मानक निर्माण गरेको छ ।

आजको युग प्रविधिको युग हो । सामाजिक सञ्जालको कारण सामाजिक सम्बन्धहरू जोडिन र टुट्न केहि समय पनि लाग्दैन । सामाजिक सञ्जालबाटै विभिन्न अश्लिल सामाग्रीहरू बिना अनुमति एक अर्कालाई ‘सेण्ड’ गरिदिने । यसैको आधारमा धम्कीपूर्ण दबाबले कतिपय जोडिएका सम्बन्धहरू सहवाससम्म पुग्ने । धम्कीकै भरमा यौन शोषण गर्ने । गर्भवती भएको थाहा पाउने वितिकै छोडिदिने ।

असुरक्षित यौन सम्बन्धको कारण गम्भीर किसिमको यौनजन्य रोग लागेको कारण धेरै युवतीहरूले आत्महत्या गरेको घटनाहरूले के पुष्टि गर्छ भने महिलाहरू वर्तमानमा पनि यौन दासी छन् । साधारण साधारण कुरामा विवाद हुँदा फोटोग्राफको माध्यमबाट महिलाको नग्न तस्विरहरू पोष्ट गर्ने जस्ता साइबर अपराधको कारण मानसिक तनावले महिलाहरूको ज्यानसम्म लिरहेको छ । अर्कोतर्फ धेरै भन्दा धेरैसँग यौन सम्पर्क र असुरक्षित यौन सम्पर्कको कारण प्राण घातक यौन रोगको सिकार हुनेहरूको संख्या तीब्ररूपमा बढ्दो छ । यसरी रोगको सिकार हुनेहरूमा धेरै भन्दा धेरै महिलाहरूनै फस्ने गरेको पाइन्छ ।

नारी स्वतन्त्रता मेरी बुहारीले राम्रोसँग खुट्टा मिचिदिन्छे, मेरी श्रीमती बत्तीस लक्षणले युक्त छे भन्ने शब्दिक माया भन्दा माथि उठ्न सकेको छैन । यहि ‘बत्तीस लक्षण’ शब्दले नारीलाई भोग्य वस्तु मानेको प्रष्ट पार्दछ । पितृसत्तावादको अवधारणाले निर्माण गरेको संस्कार, ‘मर्दका दस वटी जोई’ भनिनुले प्रष्ट पार्छ यौनमा पुरूषवादी एकतर्फी चिन्तन छ ।

‘वी कान्ट व्रेथ, प्लिज लिभ अज’ अर्थात हामी स्वास फेर्न सकिरहेको छैनौ, कृपया हामीलाई छोडिदिनुहोस् । एकल चिन्तन पुरूषवादी यौन मनोविज्ञानको दलनले हजारौ बर्ष थिचिएको महिलाहरू अब सहअस्तित्वको जीवन बाँच्न चाहन्छन् । यौनजन्य विभेदको जरा हटाउन यौनमा पुरूषवादी चिन्तनको मानक भत्किनु नै पर्छ ।

यौनलाई जैविक, भौतिक, सामाजिक, सांस्कृतिक मनोरञ्जनको पाटोबाट जे जसरी बुझे पनि महिला पुरूषबीच आत्मस्वाभिमान र एक अर्काबीचमा सम्मानको दृष्टिकोणले हेरिनु अपरिहार्य छ । भईरहेका यौन अपराध निर्मुल गर्न, यौनलाई फराकिलो वृत्तमा व्याख्या गर्दै सहअस्तित्वपूर्ण ब्यवहारिक समृद्ध यौन संस्कार निर्माण हुनु अनिवार्य छ । जसका लागि यौनको विषयमा खुलामखुल्ला बहस जरूरी छ । यौनजन्य अपराधको सजाय हदैसम्मको पीडादायक हुँदै फाँसीको सजाय दिने कानुनी प्रावधान आवश्यक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७