जिल्ला प्रशासन कार्यालय नुवाकोटको सेवा अब बार अनुसार


२० कार्तिक २०७७, बिहीबार
940x 20187816 1260967007345824 259812248 n1

नुवाकोट, २० कार्तिक । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चार वटा स्थानीय तहका सेवाग्राहीले पाउने भएका छन् ।

प्रशासनले आज एक सूचना जारी गर्दै शुक्रबारदेखि एक दिनमा चार स्थानीय तहको मात्र काम गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारीे सूचनामा एक दिनमा चार स्थानीयतहको मात्र काम हुने र त्यसको लागि जिल्लामा रहेका १२ स्थानीयतहलाई तीन समूह बनाइएको छ ।

एक सातामा एक स्थानीय तहको दुई दिन मात्र सेवा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । सूचनामा विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीको लागि आइतबार र बुधबार सेवा निर्धारण गरिएको छ । यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाको सेवाग्राहीको लागि सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ ।

यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने जनाइएको छ । सामाजिक दूरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीयतहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको जनाइएको छ । सार्वजनिक तालिका अनिश्चित समयको लागी कायम हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७