दुई हजार मिटर अग्लो डाँडामा काठको मन्दिर निर्माण


२० कार्तिक २०७७, बिहीबार
download

रोल्पा, २० कार्तिक । रुन्टीगढी गाउँपालिकाका युवा सक्रिय भएर मन्दिर निर्माण भएको छ । पर्यटक तान्न उनीहरुले काठैकाठको मन्दिर निर्माण गरेका हुन् ।

दक्षिण रोल्पाको रुन्टीगढी–६ निगालपानी र सरेचौरका बासिन्दाले मुरुले लेकको दुई हजार १५० मिटर उचाइमा सो मन्दिर गत साउनदेखि निर्माण आरम्भ गरिएको थियो । सो स्थानमा अहिले धर्मशाला, चार सय मिटर लामो सिंढी, गौशाला, शौचालयलगायत भौतिक संरचना निर्माण भइरहेको मुरुले लेक संरक्षणका अध्यक्ष चेतलाल पुनले जानकारी दिए ।

स्वर्गद्वारी महाप्रभुको तपोभूमि प्युठानको स्वर्गद्वारी जाने अधिकांश पर्यटक मुरुले लेक समेत अवलोकन गरी फर्कन्छन् । सो स्थानबाट भारतका विभिन्न भूभाग तथा नेपालका पूर्वमा पुथा हिमाल, पश्चिममा सल्यान जिल्लाका विभिन्न स्थान र दक्षिणमा दाङको दृश्यावलोकन गर्न सकिन्छ । मुरुले आउने अधिकांश पर्यटक छिमेकी जिल्ला दाङ, सल्यान, प्युठान र रुकुमका रहने गरेको स्थानीयवासी कमल चन्दले जानकारी दिए ।

गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि यसअघि रुन्टीगढी विकास सम्मेलन, होलेरी राष्ट्रिय अक्षर महोत्सव र होलेरी राष्ट्रिय मिडिया सम्मेलन गरिसकेको छ । सबै कार्यक्रमका अतिथिले मुरुले लेकलाई विशेष ढङ्गले अवलोकन गरेका थिए । पछिल्लो पटक बनेको काठैकाठको मन्दिरले मुरुले क्षेत्रको पर्यटनमा थप टेवा पुग्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।

स्थानीय युवाले जनश्रमदानबाट मन्दिर निर्माण गर्न थालेपछि उक्त काममा सघाउन गाउँपालिकाले रु दुई लाख बजेट उपलब्ध गराएको स्थानीय युवक नन्दराम खड्काले बताए ।

स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टीलाई केन्द्रविन्दु बनाएर स्थानीय सरकार गठनसँंगै आसपासका अन्य पर्यटकीय सम्भावनालाई समेत एकीकृत रुपले जोडेर पर्यटन विकासका गतिविधि भइरहेका छन् । विसं २०५२ फागुन १ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) ले पहिलो पटक प्रहरी चौकी आक्रमण गरेर चर्चित बनेको होलेरीमा हाल शान्ति स्मारक बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७