नेकपा संकट : दूरी बढाउँदै ओली–प्रचण्ड


२१ कार्तिक २०७७, शुक्रबार
KP Sharma oli PM Nepal

काठमाडौं, २१ कार्तिक । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ ।

एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र प्रचण्डबीच लगातार दूरी बढ्दै गएको छ, जसलाई नेकपाका नेताहरूले ‘चिन्ताजनक’ भनेका छन् । ४ कात्तिकबाट सुरु भएको पछिल्लो तिक्तताको शृंखला दुई हप्ताकै बीचमा उत्कर्षमा पुगेको छ ।

बिहीबार बालुवाटारको करिब एक घन्टाको संवाद पनि तिक्तताकै बीचमा निष्कर्षविहीन भएपछि दुवै नेता जस्तोसुकै परिस्थिति सामना गर्ने मनस्थितिका साथ रणनीति बनाउन सक्रिय बनेका छन् । नेकपा–विवादमा प्रचण्ड–माधव नेपाल समूह एक ठाउँ हुँदा ओली दबाबमा छन् ।

ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउनेसम्मको तयारी गरेको भन्दै त्यस्तो तानाबानालाई जुनसुकै प्रयासबाट भए पनि चकनाचुर पार्ने चुनौती दिएका छन् । माग्दै नमागेको राजीनामाको विषय उठाएर ओलीले गलत प्रचार गरेको भन्दै प्रचण्डले खण्डन गरेका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत नेताहरूको समर्थनमा केन्द्रीय सचिवालय बैठक बोलाएर अघि बढ्नेसम्मको तयारी गरिरहेका छन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको प्रयास र भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणप्रति प्रचण्ड–नेपाल समूहको आशंकासँगै चर्किँदै गएको नेकपाको आन्तरिक विवाद झनझन् गहिरिँदै गएको छ ।

पाँच दिनपछि बिहीबारको भेटमा प्रचण्डले अहिलेसम्म उठेका सबै विषय पार्टी सचिवालय बैठकमै छलफल गर्नुपर्नेमा जोड दिँदै ओलीमाथि थप दबाब सिर्जना गर्ने कोशिस गरेका छन् । तर, ओलीले भने समझदारीविना गरिने छलफल गुटमा रूपान्तरण हुने भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

‘प्रचण्ड कमरेडले बिहीबार पनि सबै विषय सचिवालय बैठक बोलाएर छलफल गरौँ भन्ने पहिलेकै प्रस्ताव दोहोर्‍याउनुभो, तर प्रधानमन्त्री बैठक बस्न मान्नु भएन । उहाँले के काम छ त्यो बैठकको भनेपछि संवाद तिक्ततामै टुंगियो,’ दुई अध्यक्षको छलफल उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘उहाँले सबै कमिटी गुट हुन्, त्यस्तो बैठकमा म किन जाने भनिसकेपछि अब पहिला अनौपचारिक छलफल गरेर बहुमतकै भए पनि सचिवालयको औपचारिक बैठक बस्नुपर्ने बाध्यात्मक स्थिति आउने अवस्था बन्दै गएको छ ।’

भेटवार्तामा प्रचण्डले बालुवाटारबाटै जुम बैठकमार्फत कार्यकर्तालाई जबजको बहस ब्युँताउन र मदन भण्डारी फाउन्डेसनलाई वडासम्म विस्तार गर्न निर्देशन दिएर प्रधानमन्त्रीले फुटको आधार निर्माण गरेको आरोप लगाएका थिए ।

‘पार्टीले वैचारिक बहसको कुनै निर्णय गरेको छैन, तर तपाईंले जुम बैठकबाट नेता–कार्यकर्तालाई जबज ब्युँतिने गरी बहस चलाउन र फाउन्डेसनको गतिविधि विस्तार गर्न निर्देशन दिएर बालुवाटारमै बसेर पार्टी फुटाउने वातावरण बनाउँदै हुनुहुन्छ,’ प्रचण्डले त्यस्तो आरोप लगाएपछि प्रधानमन्त्रीले प्रतिवाद गरेका थिए ।

‘खुमलटारमा त दिनहुँ गुटकै बैठक राख्नुभएकै छ, भेला पनि गरिराख्नु भएकै छ, अहिले भर्खर कोटेश्वरमा पनि गुटकै भेला गरेर आउनुभो क्यारे,’ ओलीको जवाफ उद्धृत गर्दै बालुवाटारनिकट एक नेताले भने, ‘सहमतिमा एजेन्डा तय नगरी त्यसैले अब बैठकै किन बस्नुपर्‍यो ? त्यो पनि गुटकै बैठक हुने न हो ।’

प्रचण्डले कतै चर्चा र छलफलै नभएको राजीनामै नदिने विषय चर्चामा ल्याएर ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए । ‘राजीनामाको विषय कसैले उठाएकै छैन, राजीनामा दिन्नँ किन भन्नुभो ? अहिले त हामीले स्थायी कमिटीको निर्णय कार्यान्वयन गरौँ, बैठक राखौँ भनेको न हो, त्योभन्दा बढी त हामीले केही गरेकै छैनौं । राजीनामाको कुरा चर्चामा ल्याएर ब्ल्याकमेलिङ गर्ने ?’

प्रचण्डले यसरी आपत्ति जनाएपछि ओलीले अविश्वास प्रस्तावबाट हटाउने तयारी भइरहेको सूचना प्राप्त भइरहेको भन्दै सबैखाले षड्यन्त्र परास्त गर्दै अघि बढ्ने भन्दै प्रतिवाद गरेका थिए । ‘के–के गरिरहनुभएको छ मलाई सबै थाहा छ ।

अविश्वासको प्रस्ताव कहाँ, कसरी तयारी भइरहेको छ, तानाबाना कसरी बुनिएको छ,’ ओलीको जवाफ थियो, ‘ती सबै तानाबानाको म सामना गर्छु, प्रतिरोध गर्दै चकनाचुर पार्नेछु ।’ चर्काचर्की पछि तिक्त संवादकै बीचमा ओली र प्रचण्ड छलफलबाट उठेका थिए । उनीहरूबीच अर्को छलफलको समय तय भएको छैन ।

प्रचण्डसँग तिक्त संवादअघि बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले आफूलाई पार्टीभित्रैबाट हटाउने षड्यन्त्रप्रति इंगित गर्दै सबैखाले तानाबानालाई असफल बनाउने बताएका थिए । ‘सरकारलाई असफल बनाउने, घेराबन्दी गर्ने लगातार कोशिस हुँदै आएको छ, त्यस्तो कोसिस अहिले पनि जारी छ, तपाईंहरूलाई बताउन चाहन्छु, आज पनि कोटेश्वरतिर बसेका छन् भन्ने सूचना आएको छ ।

त्यस्ता सबैखाले तानाबाना भत्काइन्छ, सामना गरिन्छ, चकनाचुर बनाइन्छ,’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भनाइ थियो । सुरुमा केहीबेर पछिल्लो राजनीतिक परिस्थिति संकटमा रहेको ब्रिफिङ गरेपछि मात्र मन्त्रिपरिषद् बैठक एजेन्डामा प्रवेश गरे पनि मन्त्रीहरूले प्रधानमन्त्रीको भनाइमाथि जिज्ञासा वा प्रतिवाद नगरेको एक मन्त्रीले बताए ।

यसअघि पार्टीभित्र राजीनामा मागले आन्तरिक विवाद चर्किरहेका वेला २१ असारको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले जुनसुकै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै कित्ता स्पष्ट पार्न मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए ।

‘देशमा कोरोनाको प्रभाव बढ्दै गइरहेको छ, बाढीपहिरोले जनजीवन कष्टकर भइरहेको छ, यता साथीहरू मेरो राजीनामा माग्दै हुनुहुन्छ । उहाँहरू नै राष्ट्रपतिलाई महाअभियोग लगाउन कानुनी सरसल्लाहमा लाग्नुभएको बुझेको छु,’ प्रधानमन्त्रीले बैठकमा भनेका थिए, ‘परिस्थिति यस्तै छ, हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई वर्ड, बाई स्टेप पराजित गर्नुपर्ने हुन सक्छ, त्यो वेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ ।’

४ कात्तिकको राति भएको टेलिफोन संवादमा पनि ओली र प्रचण्डबीच भनाभन भएको थियो । त्यस दिन पनि दुवै नेता ओली र प्रचण्डले दुवै मिल्न सकिन्न भने आ–आफ्नो बाटो लागौँ न’ भनेर फोन संवाद टुंग्याएका थिए ।

त्यसपछि उनीहरूबीच ११ दिनसम्म बोलचाल र भेट बन्द भएको थियो । १२औं दिनका दिन गत शनिबार भेट र आइतबार फोन संवाद भए पनि तनाव कायमै छ । गत शनिबार र आइतबारको संवादमा ओलीले कार्यकारी अध्यक्षले नै सधैँभरि सरकार असफल बनाउन लाग्ने, भागबन्डा माग्दै असन्तुष्टि र कुण्ठा मात्रै पोख्ने हो भने अलग–अलग बाटोमा हिँड्न सकिने भन्दै पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका थिए ।

पार्टीभित्र आन्तरिक संकट गहिरिँदै गएका वेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पेरिसडाँडा कोटेश्वरस्थित कार्यालयमा केहीबेर कानुन व्यवसायीसँग छलफल गरेका थिए । कोटेश्वरमा छलफल चलिरहेको सूचना पाएका प्रधानमन्त्रीले त्यहीवेला बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पार्टीभित्रको संकट चुलीमा पुगेको मन्त्रीहरूलाई प्रस्ट संकेत गरेका थिए ।

तर, छलफलमा सहभागी प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक विषयमा जोडिने गरी त्यहाँ कुनै छलफल नभएको दाबी गरे । ‘छलफलमा बारको अध्यक्ष, हाम्रो पार्टीनिकट कानुन व्यवसायी संगठनका संयोजक, सहसंयोजक हुनुहुन्थ्यो, उहाँहरूसँँग न्यायालयको पछिल्लो स्थिति, कोभिडमा न्यायालयले गरिरहेको काम, नेपाल बारको भूमिका र न्यायपरिषद्को संरचनाबारे ब्रिफिङ लिइएको हो, पार्टीको आन्तरिक विषयमा कुनै छलफलै भएको छैन,’ श्रेष्ठले भने ।

दोस्रो तहका नेता सक्रिय हुँदै

ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् । स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको संस्थागत समस्या भएकाले त्यसलाई संस्थागत विधि र प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताए । उनले बिहीबार स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पार्टीको आन्तरिक संकटकै विषयमा केहीबेर छलफल समेत गरेका थिए ।

‘हाम्रो समस्या भनेको संस्थागत जीवनमै हो । संस्थागत जीवनमा कसैको आरोप–प्रत्यारोप छ भने संस्थागत रूपमा राख्नुपर्छ, त्यहींबाट सुधार गर्नुपर्छ,’ भुसालले संक्षिप्त प्रतिक्रिया दिँदै भने । अहिले देखिएको विवादले पार्टीमा फुटको कुनै सम्भावना नरहेको प्रस्ट्याउँदै भुसालले पछिल्लो तिक्तता हटाएर दुई अध्यक्षबीचको दूरी कम गराउन र संस्थागत प्रक्रियाबाटै समस्याको समाधान खोज्ने दिशामा दोस्रो तहका नेताहरूबीच एक–दुई दिनमै सघन संवाद अघि बढाउने तयारी भइरहेकोसमेत जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७