मझगाउँ विमानस्थलका लागि बजेट जुटाइँदै


२१ कार्तिक २०७७, शुक्रबार
b4674369b4a704536386cdf55fca904d L

कञ्चनपुर, २१ कार्तिक । कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ ।

नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ । विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरुले प्राधिकरण टोलीसहित मुख्यमन्त्रीसित छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि चाहिने बजेटको २०–२५ प्रतिशतसम्म दिने गरी छलफल भएको बताए । ‘मुख्यमन्त्रीसँग प्राधिकरणको टोलीसहित राखेर छलफल गरिएको छ, मुख्यमन्त्री अत्यन्त सकारात्मक हुनुहुन्छ, २० देखि २५ प्रतिशतसम्म प्रदेश सरकारबाट बजेट आउँछ’, उनले भने, ‘केही दिनमै यसबारे निर्णय हुन्छ ।’

नगरिक उड्डन प्राधिकरणको टोलीले गत महिना विमानस्थलको स्थलगत निरीक्षण गरेपछि तीनै तहका सरकारका जनप्रतिनिधिले बजेट जुटाउने सामूहिक प्रतिबद्धता गरेका थिए । सोहीअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकार विमानस्थल सञ्चालनका लागि बजेट जुटाउन लागि परेका हुन् । ‘जसरी पनि विमानस्थल सञ्चालन गर्ने गरी अघि बढेका छौं, त्यसका लागि चाहिने बजेट, जग्गा सबैको व्यवस्था गरी अघि बढिरहेका छौं’, प्रदेशसभा सदस्य सुनारले भने ।

भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाले यसअघि नै विमानस्थल सञ्चालनका लागि बजेट दिने निर्णय गरिसकेका छन । विमानस्थल सञ्चालनको कुल लागतको भीमदत्तले १५ र महाकालीले १० प्रतिशत खर्च व्यहोर्ने निर्णय गरेका छन् । दुई स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारसहितको बजेट ५० प्रतिशत पुग्ने देखिएको छ ।

प्राधिकरणको टोलीले फागुनदेखि रनवे पिच, टावर निर्माणलगायत पूर्वाधार निर्माण अघि बढाउन लागेको हो । त्यसका लागि छलफल गर्न प्राधिकरणको टोेली गत महिना मझगाउँ आएको थियो । विमानस्थलको एक हजार ५२५ मिटर रनवे कालोपत्रेको लागत अनुमान समेत तयार गरिएको छ ।

मझगाउँस्थित बन्द विमानस्थलमा तीन तहका जनप्रतिनिधिसित प्राधिकरणले बजेट जुटाउन सहयोगका लागि आग्रह गरेको थियो । प्राधिकरणले फागुनमा रु ३४ करोडमा पूर्वाधार निर्माण अघि बढाउन ठेक्का प्रक्रियामा जाने गरी तयारी गरिएको जानकारी दिएको थियो ।

त्यसका लागि तत्काल बजेट अपुग भएकाले तीनै तहका सरकारको सहयोग चाहिने प्राधिकरणको भनाइ थियो । गत वर्ष प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनको सम्भाव्यता अध्ययन समेत गरेको थियो ।

विसं २०५४ मा मझगाउँस्थित विमानस्थल बन्द भएपछि पहिलो पटक स्थानीयस्तरमा पनि दवाब दिन सङ्घर्ष समिति गठन गरिएको थियो । पूर्व वन अधिकृत रमेश चन्द नेतृत्वको समितिले काठमाडौं गएर सरकारलाई दवाब दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७