हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय


२१ कार्तिक २०७७, शुक्रबार
humla namkha tilgau 9vziXLTcoQ

हुम्ला, २१ कार्तिक । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ ।

सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ ।

चिसौ मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लो बाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताउनुभयो । चिसोका समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको संख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले गरेका छन् ।

चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७