दृष्टिविहीनका लागि छात्रावास बनाउन जापानको एक करोड १४ लाख अनुदान


प्रकाशित मिति : November 6, 2020

काठमाडौं, २१ कार्तिक । राजधानीको कागेश्वरी मनहरा नगरपालिकामा दृष्टिविहीन छात्राहरूका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर भएको हो । दूतावासका कार्यबाहक राजदूत योसियोका युजु र सङ्घका अध्यक्ष रमेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको जापानी दूतावासले जनाएको छ ।

देशका विभिन्न भागबाट उच्च शिक्षाका लागि राजधानी आएका दृष्टिविहीन छात्राहरूलाई सङ्घले छात्रावासको व्यवस्था गर्दै आएको छ । विद्यार्थीको बढ्दो संख्यासँगै मौजुदा छात्रावास भवन आवासका लागि पर्याप्त नभएकाले नयाँ भवन बनाउन जापानले अनुदान प्रदान गरेको हो ।

यसैबीच, जापानी राजदूतावासले कीर्तिपुरस्थित आँखा अस्पतालमा मधुमेहका बिरामीको नेत्रपरीक्षणका निम्ति आवश्यक पर्ने उपकरण जडान गर्न रु एक करोड ८३ लाख अनुदानस्वरुप प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यबाहक राजदूत युजु र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा. चेतराज पन्तले आजै हस्ताक्षर गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्