नेकपा सचिवालयको अनौपचारिक बैठक शुरु : बहुमत सदस्य सहभागी

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा भन्छन्, ‘आज कुनै वैठक छैन’


२१ कार्तिक २०७७, शुक्रबार
prachanda1

काठमाडौं, २१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

नेकपाका नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि नै अनौपचारिक बैठक भएको हो । तर महासचिव विष्णु पौडेलले नेकपाको सचिवालय बैठक नभएको प्रतिक्रिया दिएका छन् । नेकपामा देखिएको विवाद समाधानतर्फ भन्दा पनि बढ्न थालेपछि नेताहरुबीच पटक–पटक अनौपचारिक छलफल भइरहेको छ । आजको सचिवालय वैठक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा भन्छन्, ‘आज कुनै वैठक छैन’

यसैबीच नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पार्टी सचिवालयको कुनै बैठक नरहेको बताएका छन् ।

उनले विगतमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा लाइक माइन्डेड (आफूसँग मिल्ने) नेताहरुसँग गर्ने गरेको छलफलको निरन्तरता मात्रै भएको बताएका छन् ।

‘यो औपचारिक वा अनौपचारिक कुनैपनि बैठक होइन । पार्टी विधान र नियमावलीले यसलाई चिन्दा पनि चिन्दैन । दुवै अध्यक्षबीचको सहमतिमा महासचिवले बैठक बोलाउने गरिन्छ,’ थापाले थपे, ‘महासचिवलाई मैले बैठकको बारेमा सोधें । उहाँले पनि जानकारी नभएको बताउनु भयो ।’

दुवै अध्यक्षको सहमतिमा मात्रै नेकपाको बैठक हुने बताउँदै उनले भने, ‘विगतमा खुमलटार, अगेनो वा अन्य स्थानमा लाइक माइन्डेड नेताहरुबीच हुने गरेको छलफलको निरन्तरता मात्रै हो ।’ थापाले भने, ‘बैठक भनेर कसैलाई जानकारी आएको छैन । पार्टी प्रवक्ताको काम झुठो कुरा फैलाउने होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७