नेकपा संकट : अब एक कदम अगाडि बढे ‘दुर्घटना’


२२ कार्तिक २०७७, शनिबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, २२ कार्तिक । दुवै समूह आ–आफ्नो अडान र तयारीमा कायम रहने हो भने भयानक संकटतर्फ उन्मुख नेकपा विवादले विभाजनको रूप लिने खतरा पैदा भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन माग गरे पनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि तयार नभए क्रमशः तीनै तहका बहुमत सदस्यको औपचारिक बैठक बोलाउने कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको तयारी छ । तर, कुनै पनि कमिटीको औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु बन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने र आफ्नाविरुद्ध हुने षड्यन्त्र परास्त गर्ने बताइसकेका छन् ।

पार्टीभित्र उत्पन्न राजनीतिक तनावमा दुईमध्ये कुनै एक समूह एक कदम पछाडि नहटे नेकपा विभाजनमा जाने गम्भीर खतरा देखिएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए बहुमतीय विधिबाट अघि बढ्ने सन्देश भने दिइसकेका छन् । केन्द्रीय कार्यालय, धुम्बाराहीमा शुक्रबार बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकमार्फत प्रचण्ड–नेपाल समूहले त्यस्तो सन्देश दिएको हो ।

मूलतः पछिल्लो स्थायी कमिटीको निर्णय कार्यान्वयनलाई लिएर मतभेद चर्किदै जाँदा प्रधानमन्त्री ओलीले समझदारी विनाको एकपक्षीय बैठक एकताको भावनाविपरीत हुने भन्दै प्रश्न उठाइरहेका वेला प्रचण्ड–नेपाल समूहले बहुमतको विकल्पको सन्देश दिएको छ ।

‘पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन । जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ,’ वरिष्ठ नेता नेपालले बहुमतबाट अगाडि बढ्न सक्ने संकेत गर्दैं भने ।

बहुमतको औपचारिक बैठक बोलाइए पार्टी विभाजन गर्ने घोषणाको प्रस्थान बिन्दु हुने ओलीको पछिल्लो भनाइले पार्टीलाई गम्भीर दुर्घटनातिर लैजाने खतरा देखिएको भन्दै उनीहरूले शनिबार सामूहिक रूपमै भेटेर बैठक बोलाउन अनुरोध गर्ने निष्कर्ष निकालेका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् ।

बिहीबार ओलीसँगको पछिल्लो तिक्त संवाद र त्यसले निम्त्याउन सक्ने संकटमा केन्द्रित रहेर अनौपचारिक बैठकमा प्रचण्डले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

‘अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या र संकटको स्थिति देखा परेको भए पनि फेरि एकचोटी सहमतिका आधारमा बैठक बस्ने र सबै पक्षबारे गम्भीरतापूर्वक छलफल गर्ने, पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा सञ्चालन गर्ने, सरकारलाई पार्टीको मार्गनिर्देशनका आधारमा जनमुखी र प्रभावकारी ढंगले सफल पार्न अगाडि बढ्नका निम्ति बैठक बसौँ भनेर उहाँसँग बारम्बार प्रस्ताव राखे पनि अर्का अध्यक्षले बैठक बस्न सहमति नदिएको ब्रिफिङ गर्नुभयो,’ अनौपचारिक बैठकपछि प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठक बस्न सहमति नदिएको अवस्थामा औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको बिन्दु हुनेछ भनेर समेत भन्नु भएको कुरा जानकारी गराउनु भएको छ ।’

छलफलमा सहभागी नेताहरूलाई प्रचण्डले पार्टी फुटको गम्भीर दुर्घटनातिर जाने सम्भावना देखिएकै कारण ओलीसँगको समझदारीमै अनौपचारिक बैठक गर्नुपर्ने अवस्था आएको जानकारी गराएपछि बैठकले एकता जोगाउनका लागि प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेरै बैठकका लागि अनुरोध गर्ने निष्कर्ष निकालेको थियो ।

‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भए पनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने दृष्टिगत गर्दै अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई सहमतिका आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले निष्कर्ष सुनाउँदै भने, ‘त्यसका निम्ति सामूहिक रूपमा नै अध्यक्ष ओलीलाई पार्टीमा विद्यमान अहिलेको संकट समाधान गर्न सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन, सहमतिको आधारमा बैठक गर्ने, अहिलेसम्मको कामहरूको समीक्षा गर्ने, पार्टीका निर्णय कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनका निम्ति आवश्यक कदम चाल्नका निम्ति छिटोभन्दा छिटो बैठक गर्न अनुरोध गर्ने भएका छौँ ।’

शुक्रबारको निर्णयअनुसार शनिबार बिहान अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गर्दै छन् । छलफलमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन र सचिवालय बैठकका विषयमा ठोस सहमति नबने जटिलता थपिन सक्ने नेताहरूले बताएका छन् ।

अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल अनुपस्थित थिए । अनौपचारिक बैठकको सूचना सबै नेताहरूलाई जानकारी गराइए पनि कतिपय नेताहरू पूर्वनिर्धारित बैठक र कार्यक्रमका कारण सहभागी नभएको प्रवक्ता श्रेष्ठले दाबी गरे । पोखरेल, थापा र पौडेल ओलीसँगको परामर्शमा बैठकमा गएका थिएनन् ।

पछिल्लो घटनाक्रमसँगै ओलीले बहुमतका नाममा एकपक्षीय कदम चाले ठूलो जवाफी कदम चाल्ने चेतावनी दिँदै आए पनि प्रचण्ड–नेपाल समूहले सहमतिका लागि हदैसम्म कोसिस गर्ने, तर तयार नभए बहुमतबाटै अगाडि बढ्ने तयारी गरेका छन् । प्रचण्ड–नेपाल समूहले अनौपचारिक बैठकबाट एक कदम अगाडि बढ्ने तयारीबारे जानकारी पाएका प्रधानमन्त्री ओली बैठक बोलाउने विषयमा थप छलफलका लागि एक कदम लचिलो बनेका छन् ।

ओलीनिकट नेताहरूले धुम्बाराहीको अनौपचारिक बैठक दुई अध्यक्षको समझदारीअनुसारको स्वाभाविक छलफल भएको भन्दै ठोस सहमतिमा पुग्ने गरी संवाद बढ्ने संकेत गरेका छन् । प्रचण्ड–नेपाल समूह बहुमतबाट अगाडि बढ्न सक्ने देखिएपछि प्रधानमन्त्री ओलीसँगको परामर्शमा संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बालुवाटारको सन्देशसहित शुक्रबार बिहान खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

‘तपाईं दुई जनाको प्रयासले ठूलो विवादबीच पनि भदौमा प्रस्ताव तयार भयो, सहमति भयो, सचिवालयले पास गर्‍यो र स्थायी कमिटीले पनि अनुमोदन गर्‍यो । त्यही स्थायी कमिटीको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ, गुटबन्दी अन्त्य गर्नुपर्छ, पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ, केपी कमरेडले पनि त्यही हो मेरो कुरा भन्नु भएको छ,’ अध्यक्ष प्रचण्डलाई भेटमा प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै उपनेता नेम्वाङले भने, ‘आखिर कमरेडहरूबाट पनि स्थायी कमिटीकै निर्णय कार्यान्वयन गरौं भन्ने नै कुरा आइरहेको छ भनेपछि त मिलाएर जानुपर्छ । एक दिन, दुई–तीन दिनमा नभए पनि अलिक समय लिएर भए पनि गरेर जानुपर्छ । यसबाहेक अर्को के विकल्प छ ?’

नेम्वाङले स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग थप संवादका लागि तयार भएको समेत जानकारी दिए । ‘दुई अध्यक्ष मिलेर एकता घोषणा गर्नुभो, तर आज एकता प्रक्रिया सफल भएन भने कार्यकर्ता र जनतालाई के भनेर उत्तर दिन्छौँ ? सबैभन्दा बढी प्रश्न त तपाईं दुई अध्यक्षमा ठोकिन्छ मैले भनेँ । उहाँले ठीकै हो कुरा भन्ने जवाफ दिनुभो,’ भेटमा भएको कुराकानी उद्धृत गर्दै उनले भने, ‘त्यसकारण केही समय लिएर भए पनि टुंगोमा पुर्‍याउँ भनेपछि म फर्किएको हुँ । त्यसपछि बालुवाटार पुगेर उहाँसँगको भएको कुराकानी प्रधानमन्त्रीलाई जानकारी गराएँ ।’

प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको निर्णय लत्याउँदै प्रधानमन्त्रीले पार्टीलाई चुनौती दिँदै मन्त्री हेरफेर, राजदूत नियुक्ति गर्दै आएको आरोप लगाउँदै आएको छ । त्यस्तै, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, भारतीय खुफिया एजेन्सी रअ प्रमुखसँगको भेटवार्तालगायत विषयमा आशंका गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले भने प्रचण्डको कार्यकारी अध्यक्षको भूमिकामाथि नै प्रश्न उठाउँदै गुटबन्दी गरेर सरकारमाथि घेराबन्दी गरेर काम गर्न नदिएको आरोप लगाएका छन् । ओलीले सरकारलाई असफल बनाउने बाटोमा लाग्ने हो भने पार्टी फुटाउँदा पनि फरक नपर्नेसम्मको चेतावनी दिएपछि दुई अध्यक्षबीचको तिक्तता चुलिँदै गएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७