स्पार्टाकसलाई सम्झिएर


२२ कार्तिक २०७७, शनिबार
spartacus memorise


हामीले
सपना देख्दै आएका हौँ
सुखी र समृद्ध जीवनको
दुख दर्द र अभाव रहित जीवनको ।

लक्ष्य ताकेका हौँ
अन्याय, अत्याचार र शोषणमुक्त जीवनको
समानतामा आधारित सुन्दर समाजको ।

इतिहासमा
विख्यात स्पार्टाकस जस्ता
कयौँ वीरपुरुषहरुले
हिम्मत गरेकै हुन्
अस्तित्व बदल्न मानव जातिको ।

र त सुरु भएको हो
मालिक विरुद्ध, दास विद्रोह
जमिनदार विरुद्ध, किसान संघर्ष
पुँजीपति विरुद्ध, मजदुर आन्दोलन ।

मानव समाजमा
हुनेखाने र हुँदा खानेहरुबीच
शोषक र शोषितहरूबिच
सदियौँदेखि चल्दै आएको हो संघर्ष ।

युगहरू बित्दै गए
क्रमशः एकपछि अर्को
आदिम साम्यवादीयुग
दास युग
सामन्ती युग
पूँजीवादी युग
ल्याउनु छ समाजवाद
पुग्नु छ साम्यवादसम्म ।

युग अनुकूल
बद्लिएनन् हाम्रा सोँचहरु
यथावत् छन् हाम्रा चेतनाहरू
कायम छन् गरिबी र असमानताहरू
उल्टो घुमिरहेछ, घडीको सुइँ ।

स्वामी प्रतापी
अधिपति देव
चरणमा शरण परेर
भक्ति गाईरहेछ, आधुनिक दासहरू
देवत्व करण हुँदै छन्
स्पार्टाकसहरु ।

वर्ग संघर्षलाई
स्वार्थको पिँजडामा हुलेर
मालिकको खोकिलाको दानापानीमा मोज गर्दै
श्रमिकको रगत–पसिनाको आहालमा
पौडिरहेछ
लम्पट सर्वहारा अगुवाहरू ।

प्रभुको अवतारमा
भक्तहरूको भजनले मग्न भएर
दासहरूको स्तुतिमा मुग्ध बनेर
आदर्शको उचाइबाट
अग्नि कुण्डमा हाम फालेर
ह्वारह्वारती जलिरहेछ
आधुनिक स्पार्टाकसहरु ।।

२१ कात्तिक २०७७
ढोलाहिटी, ललितपुर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७