आइसीयुमा रहेका मनोजलाई पूर्व पत्नी मिनाको मन छुने पत्र


२२ कार्तिक २०७७, शनिबार
4A380072 69CC 4B2C B467 948926BC2B05

काठमाडौं, २२ कार्तिक । कोरोना संक्रमण भएसँगै स्वास्थ्यमा थप समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयुमा भर्ना भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य लाभको कामना गर्दै उनकी पूर्व पत्नी मिना ढकालले मन छुने भावुक पत्र सन्देश लेखेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार उनले एउटा स्टाटस लेख्दै शीघ्र स्वास्थ्य लाभको कामनासहित मनोज गजुरेल छिट्टै हार मान्ने मान्छे नभएको उल्लेख गरेकी छिन् । उनले आफू अहिले अलग भए पनि दुई सन्तानको जन्मदाताको रुपमा आज पनि मनोजलाई उत्तिकै सम्मान र माया गर्ने उल्लेख गर्दै जतिसुकै मनमुटाव भए पनि सिकिस्त भएको खबर सुन्दा बेचैनी बढेको बताएकी छिन् ।

‘जीन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ’, उनले लेखेकी छिन्, ‘तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका २० औं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु ।

केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जीन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु ।

आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ ।’

उनले गजुरेलको सुस्वास्थ्यको कामना गर्दै थप लेखेकी छिन्, ‘तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन् । छुट्टै भए पनि टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु ।’

गजुरेलमा गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच कलाकार गजुरेलका भाइ मोहनले अहिले दाइको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । गजुरेलले पनि हिजो एक स्टाटस लेख्दै स्वास्थ्यमा सुधार भइरहेको र स्वाथ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७