मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित


२२ कार्तिक २०७७, शनिबार
messi griezmann barcelona 1024x594 1

काठमाडौं, २२ कार्तिक । कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाको सानदार जित भएको छ ।

क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले २ गोल गर्दा एन्टोइन ग्रिजमन, पेड्री र ओस्मान डेम्बेलेले १-१ गोल गरे । बेटिसका एन्टोनियो सनाब्रिया र लोरेन मोरोनले १-१ गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेस्सीलाई विश्राम दिँदै पहिलो रोजाइमा खेलाएका थिएनन् । पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएपछि कोम्यानले फातीको स्थानमा मेस्सीलाई मैदान प्रवेश गराएका थिए ।

खेलको २२ औं मिनेटमा बार्सिलोनाले डेम्बेलेको गोलमा अग्रता लिएको थियो । ग्रिजमनको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै डेम्बेलेले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

३३ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर पायो । ऐसा मान्डीले फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । ग्रिजमनको फितलो पेनाल्टी प्रहारलाई बार्साकै पूर्व गोलरक्षक क्लाउडियो ब्राभोले सहजै बचाए ।

पहिलो हाफको इन्ज्युरी समयको अन्त्यतिर बेटिसले खेल बराबरीमा ल्यायो । क्रिस्टियन टेलोको क्रसमा एन्टोनियो सानाब्रियाले गोल गर्दै बेटिसलाई खेलमा फर्काए ।
दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले फातीको स्थानमा कप्तान लिओनेल मेस्सीलाई मैदान प्रवेश गराए । मेस्सीको प्रभावमा नै बार्सिलोनाले दोस्रो हाफमा खेल आफ्नो पक्षमा पार्न सफल रहयो । ४९ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता पुनस् स्थापना गरे । जोर्डी अल्बाको लो क्रसमा मेस्सीले फर्स्ट पोस्टमा डिफेन्डर र गोलरक्षकलाई झुक्याएपछि ग्रिजमनले खाली पोस्टमा गोल गरेका थिए ।

५८ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेको शक्तिशाली प्रहारलाई डिफेन्डर मान्डीले गोललाइनमा रोकेका थिए । रेफ्रीले भीएआरको सहयोग लिँदै मान्डीले ह्याण्ड गरेको निर्णय दिँदै बार्सिलोनालाई पेनाल्टी तथा डिफेन्डरलाई रातो कार्ड दिए । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए ।

अग्रता दोब्बर पारेको केहिबेरमा नै बार्सिलोनाले जित सुनिश्चित गर्ने अवसर पाएको थियो । सर्जियो बुस्केट्सको पासमा वैकल्पिक खेलाडी ट्रीनकाओले अफसाइड ट्रयाप बिट गरेपनि बललाई पोस्टको दिशा दिन सकेनन् । ७३ औं मिनेटमा बेटिसका लागि लोरेन मोरोनले गोल गर्दै खेलमा फर्कने संकेत दिए । एलेक्स मोरेनोको लो क्रसमा मोरोनले मैदान छिरेको दुई मिनेट नबित्दै सहजै गोल गर्न सफल भए ।

८२ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको २ गोलको अग्रता स्थापित गरे । सर्जी रोबर्टोको ब्याकहिल पास नियन्त्रणमा लिँदै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उक्त गोल यस सिजन मेस्सीले ओपन प्लेमा गरेको पहिलो गोल पनि थियो । ८८ औं मिनेटमा मेस्सीको प्रहारलाई ब्राभोले विफल पार्दै ह्याट्रिकबाट बन्चित गरे ।

९० औं मिनेटमा सर्जी रोबर्टोको लो क्रसमा पेड्रीले गोल गर्दै फराकिलो जित पक्का गरे । उनले बार्सिलोनाको जर्सीमा स्पेनिस ला लिगामा पहिलो गोल गर्न सफल रहे ।

यस जितसँगै बार्सिलोनाले अंक तालिकामा आठौं स्थानमा उक्लेको छ । टोलीले ७ खेलमा ३ जित, २ हार र २ बराबरीसँगै ११ अंक जोडेको छ । शीर्षस्थानको रियल सोसीडाडको ८ खेलमा १७ अंक रहेको छ । ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७