भारतीय नाकादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने ६ लेनका पाँच सडक ३ वर्षमा सक्ने लक्ष्य, ८ वर्षसम्म पनि अधुरै


२३ कार्तिक २०७७, आईतवार
sadak

काठमाडौं, २३ कार्तिक । सरकारले सार्क क्षेत्रमा व्यापार वृद्धि गर्ने लक्ष्यका साथ भारतसँगका प्रमुख पाँच नाका र पूर्व–पश्चिम राजमार्ग जोड्न निर्माण गरिरहेको ६ लेनका व्यापारिक मार्ग विस्तारको काम ८ वर्षमा पनि सम्पन्न भएको छैन ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ०६९ सालमा निर्माण थालिएका आयोजनाहरूमध्ये दुईवटा ढिला गरी हालै सम्पन्न भएका छन् भने बाँकी तीन मार्गको काम कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट छैन ।

नेपाल–भारतका अतिरिक्त सार्क मुलुकसँगकै व्यापार वृद्धिका लागि मोहनापुर–अत्तरिया, बुटवल–बेलहिया, वीरगन्ज–पथलैया, नेपालगन्ज–कोहलपुर र काँकडभिट्टा–पानीट्यांकी सडक निर्माणाधीन छन् । तीनमध्ये नेपालगन्ज–कोहलपुर र काँकडभिट्टा–पानीट्यांकीको काम हालै मात्रै सम्पन्न भएको छ ।

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६९ मा सुरु भएको बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग सुरु भएको ८ वर्ष भइसकेको छ । ९२ प्रतिशत मात्र काम सम्पन्न भइसकेकाले यो वर्ष विस्तार कार्य पूरा हुने आयोजना प्रमुख जयलाल मरासिनीले बताए । त्यस्तै, चार वर्षअघि सम्पन्न हुनुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको काम अझै सकिएको छैन । जबकि, यो आयोजना २९ असार ०७३ भित्र निर्माण सम्पन्न गर्न सम्झौता गरिएको थियो ।

पहिलो ठेक्का सम्झौता १ जेठ ०७४ मा भई २४ महिनामा सम्पन्न गर्ने गरी निर्माण थालिएको मोहनापुर–अत्तरिया सडक पनि अहिलेसम्म ७० प्रतिशत मात्र काम भएको छ । जबकि, आयोजनाको म्याद ०७६ जेठमा नै सकिएको थियो । त्यसपछि खरिद कानुन संशोधन गरी थपिएको म्याद पनि मंसिरमा सकिँदै छ । तैपनि, आयोजना सम्पन्न हुने छाँटकाँट छैन ।

व्यापारिक मार्गमध्ये अहिलेसम्म काँकडभिट्टा–पानीट्यांकी र नेपालगन्ज–कोहलपुर ढिलाइ गरी सम्पन्न भएका छन् । नेपालगन्ज–कोहलपुर सडक तोकिएको मापदण्डअनुसार नभएको भनेर विवाद भए पनि अहिले अदालतबाट आदेश भई हस्तान्तरण भइसकेको छ भने काँकडभिट्टा–पानीट्यांकी आयोजना हस्तान्तरण गर्न बाँकी छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन यी आयोजनाको कुल लागत १७ अर्ब ३२ करोड रुपैयाँ छ । त्यसमध्ये नेपालगन्ज–कोहलपुर सडक निर्माणको १ अर्ब ५ करोड रुपैयाँ एसियाली विकास बैंकको आधा ऋण र बाँकी अनुदान सहयोग हो । त्यस्तै, काँकडभिट्टा–पानीट्यांकी सडक र पुल निर्माण एडिबीको सहयोगमा भारतले निर्माण गरेको हो ।

यसका लागि ३ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । त्यसबाहेक बाँकी १३ अर्ब ७ करोड रुपैयाँबराबरको लगानी भने नेपाल सरकारकै रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

समयमा काम नहुँदा लागत वृद्धि हुँदै जाने उत्तिकै जोखिम छ । विशेष गरी सबैभन्दा महत्वपूर्ण मानिएको वीरगन्ज पथलैया सडकको प्रगति न्यून छ । ‘पछिल्लो समयमा तोकिएको प्रगति हासिल हुन नसके ठेकेदारलाई कारबाही गरिनेछ,’ महानिर्देशक शर्माले भने ।

मोहना पुल–अत्तरिया ६ लेन सडक निर्माण थपिएको समयमा पनि नसकिने
भारतको गौरीफन्टा नाकासँग जोडिएको मोहना पुलदेखि अत्तरियासम्मको १४.२ किलोमिटर सडकको तीन खण्डमध्ये पहिलो खण्डको निर्माण सम्पन्न गर्नुपर्ने समय ६ मंसिरमा सकिँदै छ । बाँकी दोस्रो र तेस्रो खण्डको थप समय पनि आगामी १५ माघमा सकिनेछ । तर, यो सडकखण्डको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको आयोजनाका इन्जिनियर लक्ष्मणबहादुर रावलले बताए ।

पहिलो चरणको कालोपत्रे गर्ने कार्य सकिएको छ । दोस्रो चरणको कालोपत्रे गर्ने तथा फुटपाथ र सर्भिस लेन निर्माणको काम बाँकी छ । कुल सडकलाई मोहना पुलदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर, बोराडाँडी–गेटा साढे ४ किलोमिटर र गेटा–अत्तरिया गरी तीन खण्डमा छुट्याएर ठेक्कामार्फत काम भइरहेको छ ।

‘ठेकेदारले राम्ररी काम गरेको भए अहिलेसम्म सडक बनिसक्थ्यो,’ स्थानीय नारायण जोशीले भने, ‘सम्बन्धित निकायले पनि आयोजनाको कामलाई तीव्रता दिन सहजीकरण गर्न सकेन ।’ भारतीय नाकाबाट अत्तरियामा पूर्व–पश्चिम राजमार्ग जोड्ने महत्वपूर्ण सडक र सुदूरपश्चिमको ठूलो आयोजना भए पनि समयमै सम्पन्न गर्न सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

समयमै काम नसकिएपछि पहिलो खण्डमा काम गरिरहेको शर्मा–अमर–नागार्जुन जेभीले आगामी असार मसान्तसम्म म्याद थपका लागि आयोजना कार्यालयमा निवेदन दिइसकेको छ । दोस्रो खण्डमा ठेक्का पाएको लुम्बिनी–राजेन्द्र डाँफे तथा तेस्रो खण्डको लामा–राजेन्द्र–डाँफेले पनि म्याद थपको माग गर्ने तयारीमा छन् । शर्मा–अमर–नागार्जुन जेभीका साइट इन्चार्ज नवीन देवले लकडाउनका कारण करिब तीन–चार महिना काम प्रभावित हुँदा ढिलाइ भएको बताए ।

सुरुमा १ अर्ब ५० करोडमा निर्माण सम्झौता भए पनि पछि भेरिएसन गरेपछि यसको लागत १ अर्ब ६५ करोड पुगेको छ । सडक निर्माण सम्झौता भएको साढे ४ वर्षपछि गेटामा पर्ने मनहरा र सुनी खोलामा पुल निर्माणका लागि आयोजना कार्यालयले अहिले टेन्डर गरेको छ । यी दुई ठाउँमा रहेका दुई लेनका पुललाई ४ लेनको बनाइनेछ । त्यसका लागि अहिलेको पुलमै थप २ लेन जोडिने इन्जिनियर रावलले बताए ।

बुटवल–बेलहिया सडक निर्माण ९२ प्रतिशत
बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्ग विस्तार आयोजना सुरु भएको ८ वर्षमा ९२ प्रतिशत काम सकिएको छ । तीन वर्षमा सक्ने लक्ष्यसहित ०६९ मा सुरु भएको व्यापारिक मार्गको निर्माण चालू आर्थिक वर्षमा सम्पन्न हुने आयोजना प्रमुख जयलाल मरासिनीले बताए ।

५ अर्ब ९२ करोड लागतमा निर्माणाधीन सडकखण्डको करिब २५ किमि निर्माण कार्य पूरा भएको छ भने ३.७५ किमि सडक निर्माणाधीन अवस्थामा छ । बुटवल–चौराहादेखि लखनचोक र भैरहवा–अञ्चलपुरदेखि डन्डासम्म निर्माण सम्पन्न भए पनि लखनचोकदेखि अञ्चलपुर, बेलहियादेखि डन्डा र बुटवल–चौराहादेखि गोलपार्कसम्म सम्पन्न भएको छैन ।

आयोजनाले पटक–पटक ताकेता गर्दा पनि लखनचोकदेखि अञ्चलपुरसम्मको सडकखण्डमा ठेकेदार कम्पनी बिरुवा श्रेष्ठ एपेक्स जेभीले समयमा काम अगाडि बढाएको छैन । यो खण्डको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड लागतमा निर्माण सुरु गरेको थियो । यसको भौतिक प्रगति ८७ प्रतिशत भएको छ । ४ जुन २०२० मा काम सक्ने सम्झौता भएको यो सडकखण्डको म्याद सकिएको छ ।

आयोजनाका अनुसार तिहारपछि विभागबाट म्याद थप नभए कारबाही हुनेछ । यस सडकखण्डमा बेलहिया नाकादेखि बाइपाससम्मको करिब ७ सय ५० मिटर सडकखण्ड पनि अलपत्र छ । मार्च २०१७ मा बिरुवा कन्स्ट्रक्सनले २९ सेप्टेम्बर २०१९ मा निर्माण सक्ने सम्झौता गरेको थियो । तर, हालसम्म भौतिक प्रगति ३३ प्रतिशत मात्रै भएको छ ।

२०६९ मा तीन प्याकेजको ठेक्का भएको थियो । ११ असार ०६९ मा पहिलो ठेक्का भैरहवा दरखसवादेखि बुद्धचोकसम्म २.६ किमि बनाउन शर्मा दिवा द कञ्चनजंघा जेभीसँग ४६ करोड ६६ लाखको सम्झौता भएको थियो ।

यो प्याकेज ०७२ असारमा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो ठेक्का २१ असार ०६९ मा बेलहिया–बाइपासदेखि डन्डा पुलसम्म ७ सय ५० मिटर बनाउन लामा–रायमाझी कञ्चराम जेभीसँग १६ करोड १८ लाखको सम्झौता भयो । यो प्याकेज ०७२ जेठमा सकिएको छ ।

तेस्रो ठेक्का सम्झौता २८ असोज ०६९ मा तिलोत्तमा जानकी नगरदेखि बुटवल–चौराहासम्म ३ किमि सडकका लागि लुम्बिनी–कनटेक–आशिष जेभीसँग ४९ करोड ८० लाखमा भएको हो । यो प्याकेज ०७२ असारमा सकिएको छ ।

यस्तै, ०७१ मा डन्डा पुलदेखि दरखसवा र बुद्धचोकदेखि अञ्चलपुरसम्म २.१ किमि सडक निर्माणका लागि कालिका–तामाङ प्यासिफिक जेभीसँग ४७ करोड ३३ लाखको ठेक्का सम्झौता भयो । यो प्याकेज ०७५ साउनमा सकिएको छ । सोही मितिमा मणिग्रामदेखि जानकी नगरसम्म ३ किमि सडकका लागि शर्मा–लामा–कञ्चराम जेभीसँग ५५ करोड ५८ लाखको ठेक्का सम्झौता भयो  । यो प्याकेज ०७४ जेठमा सकिएको छ ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.५ किलोमिटर खण्ड भने अदालतमा मुद्दा विचाराधीन रहेकाले अन्योलमा परेको छ । यस सडकखण्डको ठेक्का कञ्चनजंघा–बिरुवा जेभीले पाएको थियो । यसको भौतिक प्रगति १५ प्रतिशत भएको छ ।

मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर सडकखण्ड टेलिकम इन्डिया लिमिटेड (टिसिआइएल)ले १ अर्ब लागतमा निर्माण सम्पन्न गरेको छ । सामान्य मर्मतका काम बाँकी रहेको आयोजना इन्जिनियर शुभेच्छा सारूले बताइन् । सुनैनापथदेखि मधवलियासम्मको ३ किलोमिटर खण्ड ६२ करोड लागतमा कालिका–रायमाझी जेभीले सम्पन्न गरे पनि सामान्य मर्मत बाँकी छ ।

चार वर्षपहिला सक्नुपर्ने वीरगन्ज–पथलैया सडक अझै बनेन
चार वर्षअघि सम्पन्न हुनुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको काम अझै सकिएको छैन । २७ किलोमिटरको व्यापारिक मार्गलाई सडक विभागले ६ भागमा विभाजन गरेर छुट्टाछुट्टै ६ कम्पनीलाई जिम्मा दिएको थियो ।

५ अर्ब ५० करोड लागतको पथलैया–वीरगन्ज सडक निर्माण गर्न प्रतिकम्पनीलाई झन्डै ६७ करोड बजेट छुट्याएको थियो । सबै कम्पनीसँग २९ असार ०७३ भित्र निर्माण सम्पन्न गर्न सम्झौता गरिएको थियो ।

व्यापारिक मार्ग निर्माणको जिम्मा एएमआर–कन्टेक जेभी, शर्मा–युनाइटेड बिल्डर्स–दिवा निर्माण सेवा, एएमआर–पप्पु–कन्टेक, श्रेष्ठ–बिरुवा–एपेक्स जेभी र पप्पु–लुम्बिनीले पाएका छन् । विभागका अनुसार निर्माण कार्यको जिम्मा पाएका ६ मध्ये केही कम्पनीले आधा काम मात्रै सकाएका छन् । बाटो बनाउन खाल्टाखुल्टी बनाएर अलपत्र छाडेपछि मालबाहक गाडीलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।

४ वर्षअगाडि नै निर्माण हुुनुपर्ने व्यापारिक मार्ग सम्पन्न नभएकाले व्यापारीहरूले समस्या भोग्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । निर्माणाधीन व्यापारिक मार्ग विस्तारमा ढिलाइ हुँदै जाँदा यात्रुहरूलाई मात्रै नभई विभिन्न व्यवसायमा पनि असर परेको छ । वीरगन्ज ड्राइपोर्टअगाडि फलफूल बेच्दै आएका कृष्णा गुप्ताले निर्माणाधीन सडकबाट आउने धुवाँ–धुलोले व्यापार ठप्प भएको गुनासो गरे ।

विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सडकमा व्यापार ठप्प हँुदा समस्यामा परेको उनको गुनासो छ । सडकमा परेका जग्गाधनीहरूले पछिल्लो समय विस्तारमा पर्ने संरचना भत्काएको भए पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ ।

डिपिआरअनुसार बनेन नेपालगन्ज–कोहलपुर सडक
सार्क राष्ट्रसँगको व्यापार वृद्धि गर्न निर्माण सुरु गरिएको रत्न राजमार्गअन्तर्गत नेपालगन्ज (जमुनाह)–कोहलपुर सडक डिपिआरअनुसार नबनेको पाइएको छ । निर्माण कम्पनीले डिपिआरबमोजिम सडक निर्माण नगर्दा बजार क्षेत्रमा पर्ने सडकको सौन्दर्य बिग्रिएको छ । स्थानीय व्यापारीको दबाब र प्रभावमा परेर निर्माण कम्पनीले ठाउँ–ठाउँमा क्रसिङ बनाएका छन् ।

राँझा–जमुनाहसम्मको साढे १० किलोमिटरमा आवश्यकताभन्दा बढी ६६ वटा क्रसिङ बनाइएको इन्जिनियर पौडेलले स्वीकार गरे । जथाभावी क्रसिङ बनाउँदा दुर्घटना बढेपछि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ठाउँ–ठाउँको क्रसिङलाई बन्द गरेका छन् । जम्मा सडक २२ किलोमिटरमध्ये ४ किलोमिटर ६ लेन र १८ किलोमिटर ४ लेनमा विस्तार गरिनेछ ।

कोहलपुर र नेपालगन्जको दुई–दुई किलोमिटरमा ६ लेन सडक बनाइएको छ । उक्त सडकमा सर्भिस लेन छुट्याउन डिभाइडर राखिएको थियो । किनमेल गर्न आएका ग्राहकको सवारीसाधन पार्किङ गर्न सर्भिस लेन बनाइएको इन्जिनियर पौडेलले बताए । तर, सो सर्भिस लेनमा दिनभर गाडी र मोटरसाइकल पार्किङ हुन थालेपछि उपमहानगर र नगरपालिकाले सर्भिस लेनको डिभाइडर हटाएर क्रसिङमा राखेका छन् ।

सरकारले ट्रेड रुट इम्प्रुभमेन्ट (ट्रिट) प्रोजेक्टमार्फत निर्माण गर्र्ने भनेको २२ किलोमिटर सडकमध्ये चार किलोमिटर ६ लेनको बनाउन टेन्डर खुलाएको थियो । दुई भागमा विभाजन गरिएको सडक निर्माणको जिम्मा खण्डमध्ये कोहलपुर–राँझा निर्माणको जिम्मा कालिका कन्स्ट्रक्सन र राँझा–जमुनाह सडकको जिम्मा एमआर पप्पु जेभीले पाएको थियो ।

एउटै बोलपत्र, उस्तै बजेट र दूरीका दुई खण्डमध्ये कोहलपुर–राँझा चार लेन सडक निर्माण पूरा भएको डेढ वर्ष भइसकेको छ । तर, पप्पु जेभीले जिम्मा पाएको राँझा–जमुनाह खण्ड पर्याप्त उपकरण र जनशक्ति नलगाउँदा थपेको म्यादमा पनि निर्माण नसकिएपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

निर्माण गरेको सडक पनि दुई वर्ष नबित्दै ठाउँ–ठाउँमा भत्किएको छ । निर्माण भएको ५–६ वर्षभित्र मर्मत गर्नुपर्ने नियम कोहलपुर–राँझा सडकखण्ड मर्मत भइरहेको सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर सुशील पौडेलले बताए ।

तर, राँझा–जमुनाह सडकखण्ड निर्माण ढिलाइ गरेको भन्दै जरिवाना तोकेपछि पप्पु कन्स्ट्रक्सनले तत्कालीन पुनरावेदन अदालत, पाटनमा मुद्दा दायर गरेको थियो । मुद्दामा अदालतले ५ नोेभेम्बर २०१७ मा टेकओभरको समय भएको र ४ नोभेम्बर २०१८ मा डिफेक्ट नोटिफिकेसनको म्याद सकिएकाले बाँकी भुक्तानी दिन सरकारको नाममा आदेश दिएको थियो ।

अदालतको सोही आदेशमा टेकेर सडक विभागअन्तर्गत रहेको वैदेशिक शाखाले मर्मत–सम्भारका लागि कार्यक्रम अगाडि बढाउन सडक डिभिजन कार्यालय, नेपालगन्जलाई परिपत्र गरेको इन्जिनियर पौडेलले बताए ।

काँकडभिट्टाको रूप फेर्ने ६ लेनको सडक
अव्यवस्थित पार्किङ, मान्छेको भिड, पिच उप्किएको सडक तथा घन्टौँ जाम हुने मेची नदीको पुललगायतको पहिचान बनाएको काँकडभिट्टाको रूप अहिले फेरिएको छ । कोरोनाका कारण नेपाल–भारत सीमा सिल र नेपाल लकडाउन हुँदा काँकडभिट्टाको पुरानो स्वरूप बदलिएको हो । मेची नदीमा बनेको ६ लेनको पुलसँगै सीमान्त सहर काँकडभिट्टासम्म ६ लेनकै ‘एप्रोच रोड’ निर्माण भएपछि पूर्वीनाकाको स्वरूप बदलिएको हो ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसइसी) अन्तर्गत भारतलाई एसियाली विकास बैंक (एडिबी)ले गरेको सहयोगलाई २ अर्ब भारतीय रुपैयाँ ऋण सहयोगमा मेची नदीमा पुल थप्नुका साथै पुलबाट काँकडभिट्टासम्म ५ सय मिटर ६ लेन सडक बनेको हो । ६ लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम पनि गरिदिएसँगै काँकडभिट्टा अहिले सुन्दर बनेको छ ।

०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा पुल निर्माण सम्झौता गरेका थिए । ०७४ फागुनबाट निर्माण सुुरु भएको ६ सय ७५ मिटर लामो पुलको चौडाइ ६ लेनको छ ।

सडक विस्तार गर्दा मेची सुक्खा बन्दरगाहको स्वामित्वका दुई भवन, मेची भन्सारको आधुनिक चेकजाँच केन्द्रसँगै पूर्वी प्रवेशद्वार भत्किएको छ भने सडकमै पर्ने मन्दिर सारिएको सडक डिभिजन दमकका सूचना अधिकारी अनुप साउदेनले बताए ।

६ लेनको सडक र मेची खोलामा बनेको पुल हेर्न अहिले आन्तरिक पर्यटक आउने काँकडभिट्टाका व्यवसायी रामबहादुर तामाङले बताए । यो सडकले पूर्वीनाका भएर नेपाल भित्रिने विदेशीको नेपाललाई हेर्ने नजरमा पनि परिवर्तन भएको पर्यटन व्यवसायी नीरबहादुर कार्कीले बताए ।

‘अव्यवस्थित काँकडभिट्टाको पहिचान बदलिएको छ । राति सडकमा बत्ती बल्छ । पहिला विदेशी पर्यटकलाई नेपाल अव्यवस्थित हो भन्ने थियो । तर, अब यो मानसिकता बदलिन्छ,’ उनले भने, ‘काँकडभिट्टामा आउने भारतीय, भुटान र बंगलादेशका पर्यटकले राम्रो सन्देश लिएर जान्छन् । जसले काँकडभिट्टा पर्यटनका लागि गन्तव्य बन्न सक्छ । एसियन हाइवेले काँकडभिट्टाको छुट्टै पहिचान राखिदिएको छ ।’

तोकिएको समयमा काम नगर्नेलाई कारबाही गर्छौँ : केशवकुमार शर्मा– महानिर्देशक, सडक विभाग

अहिलेसम्म काँकडभिट्टा–पानीट्यांकी र नेपालगन्ज–कोहलपुर सडक विस्तारको काम सम्पन्न भइसकेको छ । अब मोहनापुर–अत्तरिया, बुटवल–बेलहिया, वीरगन्ज–पथलैया हुन् । त्यसमध्ये बुटवल–बेलहिया सम्पन्न हुनै लागेको छ । घर भत्काउन ढिलो भएकाले केही ढिलाइ भयो । चालू आवमा सकिन्छ ।

मोहनापुर–अत्तरियामा पनि चालू आवमै सक्ने गरी काम गरिनेछ । वीरगन्ज–पथलैया सडकको केही खण्डमा भने काम ढिलाइ भएको छ । अब ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्ने गरी अगाडि बढ्नेछौँ । अहिलेसम्म भने कानुन संशोधन र अन्य कारणले निर्माणको म्यादभित्रै रहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७