बाइडेनको ‘मनछुने’ अभिव्यक्ति : मलाई भोट दिने–नदिने सबैको राष्ट्रपति हुनेछु

ट्रम्पले अझै स्वीकारेनन् हार, भन्छन्, ‘अदालती निर्णय कुर्छु’


२३ कार्तिक २०७७, आईतवार
thumb 2

काठमाडौं, २३ कार्तिक । डेमोक्रयाटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।

मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ । ‘चार दिनको लामो प्रतीक्षापछि यो चुनावको ऐतिहासिक क्षणमा हामी पुगेका छौं । अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने सीएनएनको प्रक्षेपण छ,’ सीएनएनका वोल्फ ब्लितजरले स्थानीय समयअनुसार ११ बजेर २४ मिनेटमा भने ।

बाइडेन यसअघि बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । उनी डेलावेयरबाट लामो समय सिनेटरसमेत निर्वाचित हुँदै आएका थिए । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् ।

पछिल्लो मत परिणामअनुसार जो बाइडेनले नेभादामा पनि जित्ने भएका छन् । सीएनएनले ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेनले नै जित्ने प्रक्षेपण गरेको छ । अहिले नर्थ क्यारोलाइना, जोर्जिया, एरिजोना र अलास्कामा मत गणना भइरहेको छ ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प अगाडि छन् भने १६ इलेक्टोरल भोट रहेको जर्जिया र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेन अगाडि छन् । यहीअनुसार अन्तिम नतिजा आए बाइडेनले ३०६ इलेक्टोरल भोट पाउनेछन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट पाउने छन् ।

परिणाम घोषणा भएसँगै बाइडेनले विज्ञप्ति जारी गर्दै अमेरिकी जनताले आफूप्रति गरेको विश्वासको सम्मान गर्ने बताएका छन् । रिसराग र आरोप–प्रत्यारोप त्यागेर राष्ट्रका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ ।

‘मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु,’ बाइडेनले भनेका छन् । मिलेर अघि बढेको खण्डमा अमेरिकाले गर्न नसक्ने केही नरहेको उनको दाबी छ । आफ्नो चुनावी अभियानका क्रममा बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका कारण ‘देशको आत्मा जोखिममा रहेको’ उल्लेख गर्दै आफूले ठीक पार्ने बताउने गरेका थिए ।

चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।

बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि असफल हुने एघारौं राष्ट्रपति बनेका छन् । नतिजा घोषणाका समय भर्जिनियास्थित रिसोर्टमा गल्फ खेलिरहेका ट्रम्पले जो बाइडेन हतार गरेर विजेता घोषित भएको दाबी गरे । सञ्चारमाध्यमले बाइडेनलाई समर्थन गरेको र उनीहरूले सत्य सार्वजनिक होस् भन्ने नचाहेका ट्रम्पको आरोप छ ।

ट्रम्पले अझै स्वीकारेनन् हार, भन्छन्, ‘अदालती निर्णय कुर्छु’
मतदाताबाट पराजित अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले अझै परिणाम स्वीकारेका छैनन् । बरु उनी जो बाइडनको जीतको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले दिएका समाचार प्रक्षेपण मात्र भएको बताउँदैछन् ।

Trump picture

तर नतिजाले भने ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाई दिइसकेको छ । सन् २०१६ को निर्वाचनमा आफूलाई जिताएका संग्रामी राज्यहरुमा बाइडनले जितिसक्दा पनि उनी निर्वाचन नसकिएको प्रतिक्रिया दिँदैछन् ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्न पुगेका ट्रम्पले एक वक्तव्यमा भनेका छन्, ‘किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ ः उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन ।’

ट्रम्पले भनेका छन्, ‘सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन ।’ निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन् । ट्रम्पले सोमबारदेखि आफ्नो टोलीले अदालतमा मुद्दा हालेको र अदालती निर्णयपछि मात्र विषय टुंगिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७