राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन : सोमपाल छानिए ‘ए’ श्रेणीमा


२३ कार्तिक २०७७, आईतवार
Nepal Cricket Team

काठमाडौं, २३ कार्तिक । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।

यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई हिजो बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो ।

परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ’ए’ श्रेणीमा परेका छन् । यसअघि उनी ’बी’ श्रेणीमा परेका थिए । यस्तै सी मा रहेका अविनास बोहरालाई ’बी’ मा राखिएको छ । यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ’बी’ र सन्दीप जोहरालाई ’सी’ मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई ’बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ’सी’ श्रेणीमा राखिएको छ । यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

पुरुषतर्फ ’ए’ श्रेणीको खेलाडीले ५० हजार, ’बी’ श्रेणीको खेलाडीले ४० हजार र ’सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ ’ए’ श्रेणीका खेलाडीले १५ हजार, बीमा पर्नेले १२ हजार र ’सी’ श्रेणीका खेलाडीले १० हजार रुपैयाँ मासिक तलब पाउने छन् । क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७