पाँचखालमा छ हजार विद्युत पोल फेरिए


२३ कार्तिक २०७७, आईतवार
pol Magdi

काभ्रेपलाञ्चोक, २३ कार्तिक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मंसिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत पोल फेरिएको जनाइएको छ ।

पाँचखाल नगर क्षेत्रका आठ हजार जीर्ण पोलमध्ये छ हजार विद्युत्पोल फेरिएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार नगरसँग विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौताअनुसार हाल भित्री शाखा लाइनसहित छ हजार पुराना पोल फेरी स्टिल तथा सिमेन्टका विद्युत पोल फेरिएको हो । ‘पोल फेरी विद्युत् लाइनको स्तरोन्नति समेत गरिरहेका छौं’, ढकालले भने ।

मुख्य लाइनका ३०० पुराना विद्युत्पोल फरिएको केन्द्रले जनाएको छ । कुनै समय विद्युत् जडानका लागि हरिया रुख र बाँस गाडेर घरघरमा विद्युत् लाइन पुर्‍याइएकाले हाल जीर्ण भई दुर्घटनाको जोखिमका कारण स्टिल र सिमेन्टका पोल फरिएको नगर प्रमुख महेश खरेलले बताए । उनले भने, ‘पाँचखालमा विद्युत् लाइन स्तरोन्नतिसँगै विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्दैछौँ ।’ उनका अनुसार २०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ ।

केन्द्रअन्तर्गतका चार स्थानीय तहका ७५ प्रतिशत जीर्ण विद्युत पोल फेर्ने काम सकिएको जनाइएको छ । साथै पाँचखालमा केन्द्र स्थापनापछिको एक वर्षको अवधिमा चार स्थानीय तहमा विद्युत् चोरीमा संलग्न ४०० ग्राहकलाई कारवाही गरिएको छ । कारवाहीबाट रु १८ लाख जरिवाना असुल गरेको केन्द्र प्रमुख ढकालले बताए । उनका अनुसार ७५० को विद्युत् लाइन काटिएको तथा एक हजार ५०० नयाँ ग्राहक थपिएका छन् ।

ढकालका अनुसार हुकिङ गरी विद्युत् प्रयोग गर्ने र मिटर बाइपास गरेकाको विद्युतीय सामग्री जफत गरिएको थियो । जफत सामग्री लिन आउँदा कुन क्षमतामा विद्युत् अपचलन गरेको हो सोहीअनुसार जरिवाना गरी पठाइने प्रावधान रहेको छ । राम्रो काम गरेकामा पाँचखाल केन्द्र रनेपालभरबाट उत्कृष्ट शाखाका रूपमा हालै सम्मानित समेत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७