चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त


२३ कार्तिक २०७७, आईतवार
kumalae

इनरुवा, २३ कार्तिक । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् ।

एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए ।

कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिका रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरु बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ ।

आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ ।

वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दानी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दानी समेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७