हतियारसहित नेपाल छिरेर सीमा अनुगमन गरिरहेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे


२३ कार्तिक २०७७, आईतवार
ssb

कैलाली, २३ कार्तिक । बिना जानकारी हतियारसहित नेपाल पसेर सीमास्तम्भ अनुगमन गरिरहेका भारतीय सुरक्षाकर्मी (एसएसबी) लाई कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रका स्थानीयले धपाएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।

पहिलो उनीहरु कसलाई सोधेर आयौं भनेर बुझेको र कहिं कसैसँग समन्वय नगरी आफूखुशी छिरेको पाइएपछि २०–२५ जना युवाहरू मिलेर लखेटेको बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले भने ‘त्यसपछि उनीहरु भागे ।’

यस क्षेत्रमा पटक पटक भारतीय सुरक्षाकर्मी पसेर नेपालीलाई नै धम्की दिदै आएका छन् । चौधरीले उनले भने ‘यस पटक पनि एकलौटी रुपमा नेपाल छिरेर सीमा नाप्दै थिए । हामी जाइलाग्न खोजेपछि उनीहरु भागे ।’

नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका–१० को नेपाल भारत सीमास्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमास्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीले बताएका छन् ।

शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् ।नेपाली भूमिमा प्रवेश गरेर उनीहरुले नापी गर्दा कसैलाई जानकारी नदिएको बेलौतरी नगरपालिका– १० का अध्यक्ष हरिलाल चौधरीले बताए ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लब राज भट्टले सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको भए पनि एसएसबीका सुरक्षाकर्मी दादागिरी शैलीमा नेपाल प्रवेश गरेको बताए ।
उनले यसअघि पनि पटक–पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको बताए ।

‘कसैसँग समन्वय नगरी अर्काे देशमा हतियारसहित प्रवेश गरेका छन् । यो त दादागिरी हो’ उनले भने, ‘नेपाली भूमिमा आएर नाप–जोख गर्ने अधिकार कसले दियो ?’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा प्रवेश गरेको बताए । ‘नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने हो, तर भारतीय पक्षले समन्वय गरेनन्’ उनले भने ।

यद्यपि प्रमुख जिल्ला अधिकारी महतोले उनीहरु नेपाल पस्नुको कारण सामान्य रहेको र माफी मागेको समेत बताए । ‘नेपाल–भारतका सीमामा रहेका सीमा स्तम्भहरू हेरफेर भएको छ कि छैन भनेर निरीक्षण गरेका हुन्’ प्रजिअ महतोले भने ‘एसएसबीले गर्ने नियमित गस्ती हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७