तिहारमा निर्धक्क विद्युत् खपत गर्न प्राधिकरणको आग्रह


२४ कार्तिक २०७७, सोमबार
bijuli batti

काठमाडौं, २४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले यही हप्तादेखि सुरु हुने तिहारमा यो वर्ष विद्युत् खपत घट्ने प्रक्षेपण गरेको छ ।

विगत वर्षहरूमा तिहारको लक्ष्मीपूजाका दिन १३ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो । तर, यो वर्ष अधिकतम १ हजार २५ मेगावाटसम्म विद्युत् माग हुने प्रारम्भिक प्रक्षेपण भएको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘प्राधिकरण भने अधिकतम १४ सय मेगावाट विद्युत् माग भए पनि उपलब्ध गराउन सक्ने अवस्थामा छ,’ उनले भने ।

तिहारमा कुनै किसिमको खपत बढ्ने सम्भावना नभएर नै कार्ययोजना वा विशेष तयारी खासै छैन । यो वर्षको तिहारको लक्ष्मी पूजा शनिबार (२९ कात्तिकमा) पर्छ । लक्ष्मीप ूजाको दिन सबैभन्दा धेरै विद्युत् खपत हुने विश्वास गरिन्छ ।

प्राधिकरणले पर्याप्त बिजुली आपूर्ति गर्ने भएकाले २४सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न आग्रहसमेत गरेको छ । ‘प्राधिकरण धेरैभन्दा धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ,’ उनले भने । तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्ने छैन । ‘प्राधिकरण अहिले धेरैभन्दा धेरै मानिसले बत्ती बालून् भन्ने चाहन्छ,’ प्रमुख भट्टराईले भने ।

यसकारण यो वर्षको तिहारमा खपत बढ्दैन
विगत वर्षहरूमा उपत्यकामा झन्डै ३ दर्जन मझौलादेखि ठूला तारे होटेलसम्म खुला हुने गरेका थिए । पर्यटक यही सिजनमा नेपाल घुम्न आउँथे । तर, यसपटक कोभिड–१९ का कारण होटेल खुला भए पनि उनीहरूले खपत गर्ने विद्युत् ठूलो परिमाणमा घट्ने प्राधिकरणको भनाइ छ । त्यस्तै, यो वर्ष ठूला व्यापारिक भवन र मलहरूमा पनि विद्युतको खपत न्यून हुनेछ । कतिपय उद्योग सञ्चालनमा छैनन् भने घरेलु उद्योग पनि बन्द भएका छन् ।

त्यस्तै, साना–साना भए पनि पसलहरू बन्द छन् । ‘यसले पनि विद्युत् लोड घटाउने हामीले सोचेका छौँ,’ केन्द्र प्रमुख भट्टराईले भने । यसपटक घरघरमा केही बढी बत्ती बले पनि त्यसले माग वृद्धिलाई उल्लेख्य बढाउनेछैन ।

कुनै वेला लाइन ट्रिप भएर वा हावाहुरी र अन्य प्राकृतिक कारणले केही समय विद्युत् रोकावट भए पनि त्यो सामान्य अवस्थामा कुनै किसिमको अभाव नहुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले यो वर्ष काठमाडौंमा हुने विद्युत् खपत नै घटेको बताएको छ ।

अहिले पिकमा १२ सय ६० मेगावाटसम्म माग
प्राधिकरणको तथ्यांकअनुसार अहिले अधिकतम माग १२ सय ७५ मेगावाटसम्म रहेको भारप्रेषण केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए । अहिलेको पिक समय भनेको बेलुका ६ देखि साढे ६ बजेको समय रहेको छ । अहिले प्राधिकरणसँग १ हजार मेगावाट हाराहारी विद्युत् उपलब्ध छ । त्यसभन्दा धेरै माग भएमा भारतसँगको ५ वटाजति नाकाबाट २ सय मेगावाट जति लिन सकिनेछ ।

यो विद्युत् अन्य समयमा पनि लिइरहेकाले स्वाभाविक रहेको भट्टराईले बताए । अहिले धेरै विद्युत् खेर गएको भन्ने विषय पनि सही नभएको उनको भनाइ छ । विद्युतको माग र आपूर्ति छिनछिनमा परिवर्तन हुने विषय हो । यसकारण कहिले आपूर्ति बढी हुने र कहिले माग धेरै हुने विषय स्वाभाविक रहेको उनको भनाइ छ । ‘कहालीलाग्दो अवस्था होइन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७