नेपाली फौजले अंग्रेज फौजलाई हराएको सम्झनामा आज सिन्धुलीगढीमा विजयोत्सव


२४ कार्तिक २०७७, सोमबार
sinduligudi

सिन्धुली, २४ कार्तिक । सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो ।

नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिए । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ । विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उनले जानकारी दिए । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उनले जानकारी दिए ।

gadhi

नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु बोलाई र्‍याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताए । यस पटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

विस. २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन शुरु गरेकोे थियो ।

त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ ।

हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ । त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला, ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को संख्यामा काठमाडौंतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’ का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो ।

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दूकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । शिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो । अङ्ग्रेज फौजसँगको लडाइँ असोजमा भए पनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको हो ।

उक्त ऐतिहासिक लडाइँबाट अङ्ग्रेज फौजका ५०० थान बन्दूक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो । गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाई रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।

विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकाम समेत रहेको सिन्धुलीगढीमा भग्नावषेशका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय आन्तरिक पर्यटनका अतिरिक्त बाह्य पर्यटक समेतबाट बाक्लो रुपमा भ्रमण हुन थाले पनि वार्षिक रुपमा कति पर्यटक त्यहाँ पुग्छन् भन्ने तथ्याङ्क भने रहेको पाइँदैन । सिन्धुलीगढीको लडाइँमा एक हजार २०० गोर्खाली फौज तैनाथ भएको र त्यसमा आइमाई र केटाकेटी पनि सामेल रहेको इतिहासकारहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७