नेकपाको झगडामा अनुशासन आयोगको चासो र चिन्ता : तत्काल बैठक बोलाऊ

सुन्नै नसकिने गालीगलौंच, निन्दा र भर्त्सना चिन्ताको विषय : अध्यक्ष बोहोरा


२४ कार्तिक २०७७, सोमबार
bohora

काठमाडौं, २४ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो र चिन्ता व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन नेकपा अध्यक्षद्वयलाई आग्रह छन् ।

आज सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ ।

फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’

उनले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गरेका छन् ।

‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगणप्रति विशेष अनुरोध गर्दछु’, बोहोराले भनेका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको भन्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराएका छन् ।

‘यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने ‘गालीगलौज’, ‘निन्दा भत्र्सना’, ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् ।

यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो’, बोहोराले विज्ञप्तिमा भनेका छन् ।
आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेको भन्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु रहकाले त्यतातर्फे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनले विधि, पद्दति पार्टी सञ्चालनका प्राण भएको पनि बताएका छन् । ‘विधि र पद्धति पार्टीका प्राण हुन । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौं’, बोहोराले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७