अस्ताए तामाङ समुदायका एउटा उज्यालो


२४ कार्तिक २०७७, सोमबार
Thegsum Chhoypheling Monastery scaled

काठमाडौंको स्वयम्भु थेग्सिम छ्योफेलिङ्ग गुम्बाका संस्थापक आचार्य खेन रिन्पोछे कमल मोक्तान सधैं भन्ने गर्थे, ‘धर्म यस्तो औषधि हो, ‘जसको सेवनबाट मानसिक चिन्तनबाट अनेक प्रकारको बिमारहरु नष्ट भएर जान्छ । धर्म त्यो होइन जसले शारिरीक र मानसिक रोग लागोस् ।’ उनको जोड थियो, ‘कुनै पनि धर्म मान्छेहरुको दुःखको स्रोत होइन, खुसी र शान्तिको स्रोत हुनुपर्छ ।’ अर्थात् मान्छेहरुको खुुसीको निम्ति धर्म सहयोगी बन्नुपर्छ । धर्म कुनै पनि समुदायको प्रगतिको बाधक होइन साधक बन्नु पर्नेमा उनको जोड थियो ।

उनी एक जना धार्मिक गुरु थिए । तर उनी धर्मलाई पनि प्रगतिशिल कोणबाट व्याख्या गर्थे । अर्थात् धर्म सबै वर्गका मान्छेहरुलाई जोड्ने कडीको रुपमा हेर्नु पर्नेमा उनको जोड थियो । उनले भन्ने गर्थे, ‘बौद्ध दर्शनको उज्यालोबाट हिड्न सकियो भने सबै खालका समस्याबाट मानव समाजलाई मुक्त बनाउन सकिन्छ ।’ दुनियाँमा नेपालको परिचय र पहिचान बौद्ध दर्शनको जगमा फैलाइनु पर्नेमा उनी जोड दिइरहन्थे ।

म मार्क्सवादलाई उज्यालो र बाटो मान्ने मान्छे । तर बौद्ध दर्शनका बारेमा उनले गरेको व्याख्या सुनिरहँदा यस्तो लाग्थ्यो, ‘होइन यिनी मार्क्सवादका व्याख्याता हुन् कि बौद्ध दर्शनका गुरु ?’ वास्तवमा उनी बौद्ध दर्शनलाई विज्ञानको कोणबाट व्याख्या गर्न सक्ने गुरु थिए ।

हो ! यहि मान्यता लिएर गुरु मात्रै होइन अभियान्ता समेत भए । उनी एक जना बौद्ध धर्मगुरु मात्रै होइनन् सामाजिक र सांस्कृतिक अभियान्ता बनेर निरन्तर सक्रिय भए । खासगरी तामाङ समुदायमा रहेका कतिपय धार्मिक समस्या र विकृति हटाउने अभियानमा उनी निरन्तर लागिरहे । तामाङ समुदायको संस्कार र संस्कृति सुधारको अभियान्ता बने । सुधारक बने । तामाङ समुदायलाई अँध्यारोबाट उज्यालोतिर लैजाने उनै आचार्य खेन रिन्पोछे कमल मोक्तानको गत १४ कार्तिक २०७७ मा उपचारका क्रममा ६५ वर्षको उमेरमा निधन भयो । तामाङ समुदायको एउटा उज्यालो गत १४ कार्तिकमा अस्ताए ।

समाजलाई उज्यालो छोडेर अस्ताए
इलाममा जन्मिएका रिन्पोछे मोक्तानले भारतको वनारस हिन्दु विश्वविद्यालयको बौद्ध बिभागबाट बौद्ध दर्शनमा आचार्य गरेका थिए । तामाङ समुदायबाट वनारस हिन्दु विश्वविद्यालयबाट बौद्ध दर्शनमा आचार्य गर्ने उनी पहिलो हुन् । आचार्य गरे लगत्तै उनी नेपाल फर्किए । नेपाल फर्किएपछि उनी केवल गुरुको रुपमा गुम्बामा मात्रै सीमित भएनन् । उनलाई लाग्यो, ‘कतिपय अवस्था र सन्दर्भमा धर्म तामाङ समुदायका निम्ति समस्या बनेको छ ।’

अझ उनलाई लाग्यो, ‘समयमा नै तामाङ समुदायलाई धार्मिक रुपमा सही बाटो र उज्यालो देखाउन नसके समुदाय बिभिन्न धर्ममा बिभाजित हुन्छ ।’ यी निचोडका साथ उनी खासगरी बौद्ध धर्ममा तामाङ समुदायलाई एकीकृत गर्ने अभियानमा लागे । कतिपय विकृतिहरुलाई सुधार गरेर निरन्तर बौद्ध दर्शन वरिपरि केन्द्रीत गर्ने अभियान सुरु गरे । उनी सधैं भन्ने गर्थे, ‘हाम्रो समुदायको सांस्कृतिक प्रगति बौद्ध दर्शनको उज्यालो छरेर मात्रै सम्भव छ ।’

जतिबेला उनले यो अभियान सुरु गरिरहेका थिए, त्यतिबेला नेपालमा धर्म परिवर्तनको लहर थियो । अर्थात् अमुक धर्मका मान्छेहरु यहाँका समुदायकाे अज्ञानता र गरिबीमाथि खेलेर धर्म परिवर्तनको अभियानमा थिए । अनेकन अवसर र पैसाको लोभ देखाएर उनीहरु धर्म परिवर्तन गराउने अभियानमा थिए र छन् । रिन्पोछे मोक्तानसँग कुनै त्यस्तो देखाउने लोभ थिएन । थियो त बौद्ध दर्शनको उज्यालो मात्र । तर उनले त्यही उज्यालोले धेरै मान्छेहरुलाई एकीकृत गरे । उनी भन्थे, ‘बौद्ध दर्शन संसारलाई उज्यालो देखाउन हो ।’

त्यसो त उनी भाषिक रुपमा पनि अब्बल थिए । नेपाली, तामाङ, संस्कृत र अंग्रेजी भाषामा प्रवचन दिन सक्ने क्षमता थियो उनीसँग । नेपालमा मात्रै होइन उनी विश्वका बिभिन्न देशहरु पुगेर बौद्ध दर्शनका बारेमा प्रवचन दिन्थे ।

अधुरो सपना
उनी धार्मिक जागरणसँगै गुम्बा निर्माणमा पनि उत्तिकै सक्रिय भए । प्रवचन तथा धार्मिक अभियानहरुमार्फत उनले देशका बिभिन्न स्थानमा गुम्बा स्थापनका लागि सहयोग जुटाइ दिए । उनी आफैले पनि काठमाडौंको स्वयम्भु थेग्सिम छ्योफेलिङ्ग गुम्बा स्थापना गरे । उनी अविवाहित थिए । उनको परिवार भन्नु नै उनका गुरु, चेला र समुदाय थियो । उनले कमाएका सबै पैसाहरु त्यही गुम्बामा लगानी गरे । तर गुम्बा निर्माण भने सम्पन्न भएको थिएन । गुम्बाको भव्य गजुर हाल्ने, विशाल ध्यान र अध्ययन केन्द्र बनाउनेलगायतका उनका सपना थिए ।

दुई महिनाअघि उनी गुम्बामा अलि बिसञ्चो भएर बसिरहेका थिए । हामी समाजसेवी तथा अभियान्ता सिंगापुर प्रहरीका अवकाश प्राप्त चिफ इन्सपेक्टर नारायणकुमार गुरुङसँग उनलाई भेट्न गएका थियौं । उनले हामीसँग भनेका थिए, ‘कोरोनाले गर्दा कामहरु सबै रोकिएका छन् । गुम्बा र समुदायसँगका मेरा धेरै सपनाहरु छन् ।’

गुम्बालाई निर्माण सम्पन्न गरेर समुदायका निम्ति एउटा उज्यालो केन्द्रको रुपमा उनी छाड्न चाहन्थे । तर, उनको त्यो सपना अधुरै रह्यो । खासगरी डाइबेटिजका कारण अस्पताल भर्ना भएका उनले आफ्ना अन्तिम योजना र सपनाका कुरा सुनाउने अवसर समेत पाएनन् ।

भेन्टिलेटरमा राखिएका उनी फर्किएनन् । उनले आफ्ना दाजु इन्द्र मोक्तानलाई आर्दश मान्थे । अनेकौं समस्याका बीचमा पनि आचार्यसम्मको अध्ययनका लागि सहयोग गरेका दाजुलाई समेत उनले आफ्ना अन्तिम सपनाहरु सुनाउन पाएनन् । तर दाजु आफ्नो भाइका सपनाहरु बारेमा प्रष्ट रहेछन् । भन्छन्, ‘गुम्बा निर्माण सम्पन्न गरेर यसलाई समुदायका निम्ति उज्यालो केन्द्रका रुपमा बिकास गर्ने भाइको इच्छा थियो ।’

वास्तवमा उनी केवल धर्मगुरु मात्रै थिएनन् उज्यालोका अभियान्ता थिए । उनमा धार्मिक जडता थिएन, बरु उनी बौद्ध दर्शनलाई प्रगतिशिल कोणबाट व्याख्या गर्थे । बौद्ध दर्शनलाई केवल अमूक समुदायको धर्मको रुपमा होइन नेपालको पहिचान र परिचयको रुपमा बिकास गर्ने उनको सपना थियो । बौद्ध दर्शनलाई नेपालको बाटो र उज्यालो बनाउने सपना देखेका रिन्पोछेप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७