कोभिडविरुद्धको भ्याक्सिनले जगायो आशा, ९० प्रतिशत सुरक्षित रहेको दाबी


२५ कार्तिक २०७७, मंगलवार
korona khop

काठमाडौं, २५ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई आतंकित बनाइरहेका वेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ ।

कोभिडबाट संक्रमित रहेका व्यक्तिमा भ्याक्सिन प्रयोगपछि ९० प्रतिशत सुरक्षित रहेको अमेरिकी कम्पनी फिजेर र जर्मन कम्पनी बिओनटेकले जनाएका छन् । भ्याक्सिन उत्पादक कम्पनीले सोमबार विज्ञान र मानव जगतमा ९ नोभेम्बरको दिनलाई ऐतिहासिक भनेका छन् । ‘साइन्स र मानव जगतका लागि आजको दिन महान् हो,’ फिजेर र बिओनटेकले भनेका छन् ।

यो भ्याक्सिन विभिन्न ६ राष्ट्रमा ४३ हजार पाँच सय व्यक्तिमाथि परीक्षण गरिएको थियो । तेस्रो चरणको क्लिनिकल ट्रयालमा भ्याक्सिनले कोभिडविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको जनाइएको छ ।

भ्याक्सिन उत्पादक कम्पनीले यसै महिनाको अन्तिमसम्म आपत्कालीन अवस्थामा यसको प्रयोग गर्नका निम्ति निवेदन राख्ने भएको छ । ‘अहिलेको अवस्थामा यो नै सबैभन्दा उत्तम उपचार हुन सक्छ, हामी सामान्य जीवनमा फर्कन सक्छौँ,’ भ्याक्सिनको विश्वास देखाउँदै कम्पनीले भनेको छ ।

विश्वभरि नै कोरोना भाइरसविरुद्ध लड्ने ५० भन्दा बढी भ्याक्सिन तेस्रो चरणमा परीक्षण भइरहेका छन् । धेरै चरणको परीक्षणपछि वैज्ञानिकहरू एउटा निचोडमा पुग्नेछन् । तेस्रो चरणमै सफलता मिल्दा फिजेर र बिओनटेक भ्याक्सिन उत्पादन कम्पनी उत्साहित भएका छन् ।

‘यद्यपि परीक्षण तेस्रो चरणमै भइरहे पनि हामीले ऐतिहासिक सफलता प्राप्त गरेका छौँ, पक्कै पनि भविष्यमा यसले राम्रो समाचार दिनेछ,’ कम्पनीले भनेको छ, ‘अहिले पनि हामी परीक्षणकालमै छौँ, कोभिडबाट संक्रमितलाई इम्युनिटी शक्ति बढाउने काम भइरहेको छ ।’

नयाँ भ्याक्सिनले मानवको शरीरमा दुई किसिमले काम गर्छ । पहिलो शरीरभित्रको सेललाई सन्तुलित बनाउने काम गर्छ । इम्युन प्रणालीले कोभिडको भाइरसविरुद्ध लड्ने काम गर्छ । दुई वा तीन साताको परीक्षणपछि संक्रमित व्यक्तिको अवस्था थाहा पाइन्छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका तथा टर्कीमा संक्रमित भएका व्यक्तिलाई भ्याक्सिन प्रयोग गरेको सात दिनमै यसको नतिजा देखिएको फिजेर कम्पनीले दाबी गरेको छ ।

‘भ्याक्सिन लगाएको सात दिनभित्रै ९० प्रतिशत संक्रमितको अवस्था राम्रो भएको पायौँ,’ कम्पनीले भनेको छ । फिजेर कम्पनीका अनुसार यो वर्षभित्र ५० लाख व्यक्तिले भ्याक्सिन पाउन सक्छन् । २०२१ को अन्त्यसम्म एक करोड ३० लाख संक्रमितले भ्याक्सिनको लाभ उठाउन सक्छन् ।

फिजेर कम्पनीका डाक्टर तथा प्रमुख अल्वर्ट बाउर्लाले अन्तिम नतिजातर्फ उन्मुख भइरहेको बताएका छन् । ‘हामी आश्चर्यजनक रूपमा भ्याक्सिनको सफलतानजिक पुगेका छौँ, अब केही कदमपछि यसले पूर्णता पाउनेछ, अहिले विश्वमा भएका सबै व्यक्ति भ्याक्सिनकै प्रतीक्षामा छन्,’ उनले भने ।

यसैगरी, बिओनटेकका संस्थापक तथा प्राध्यापक उगुर साहिनले अहिलेको नतिजा कोसेढुंगा भएको बताएका छन् । ‘अहिलेको तथ्यले नै सबै कुरा छर्लंग पारेको छ, हामीले सुरुमा ९४ भोलेन्टरमाथि परीक्षण गरेका थियौं, उनीहरूबाट नतिजा राम्रो आएपछि यसको थप अनुसन्धानतर्फ लाग्यौँ,’ सहिनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७