कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार, विश्वमा जाग्यो आश


२५ कार्तिक २०७७, मंगलवार
corona vacchine

काठमाडौं, २५ कार्तिक । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।

उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो ।

corona vaccine 20201110004709

त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन । ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन् । त्यसका लागि यो महिना (नोभेम्बर) अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन् ।

यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन् । केहीले यो सुनेपछि आफू प्रसन्न भएको बताएका छन् । केहीले आगामी वसन्त ऋतुसम्म विश्वको जनजीवन सामान्य भइसक्ने आशा व्यक्त गरेका छन् । विभिन्न देशले कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बताएका छन् । तीमध्ये करिब दर्जन खोप तेस्रो चरणको परीक्षणको अन्तिम अवस्थामा छन् । तीमध्ये अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो ।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ । यसले रोगप्रतिरोधी क्षमता बढाएर कोरोना भाइरसविरुद्ध लड्न मद्दत गर्छ । त्यसका लागि उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराइन्छ ।

उक्त खोपले एन्टिबडी र टि–सेल बनाउन सहयोग गर्छ । तीन साताभित्र उक्त खोप दुई मात्रा लगाउनु पर्छ । यो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो। यसको दोस्रो मात्रा दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

खोप उत्पादक कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्म ५ करोड मात्रा आपूर्ति गर्न सक्नेछ । सन् २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड मात्रा उत्पादन र वितरण गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । बेलायतले यस वर्षको अन्त्यसम्म उक्त खोपको एक करोड मात्रा प्राप्त गर्न सक्ने छ । थप तीन करोड मात्राका लागि खरिद आदेश दिइसकिएको छ ।

उक्त खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नुपर्ने भएकाले व्यवस्थापनगत चुनौतीहरू ठूलै छन् । फाइजरका अध्यक्ष डा अल्बर्ट बुर्लाले भनेका छन्, ‘विश्वव्यापी महामारी अन्त्य गर्न हामी उल्लेखनीय सफलतासम्म पुगेका छौं ।’ बायोएनटेकका संस्थापकमध्ये प्रा. उगुर साहिनले यो नतिजालाई ‘कोसेढुंगा’ भनेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७