ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि


२५ कार्तिक २०७७, मंगलवार
lalitkala

काठमाडौं, २५ कार्तिक । ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ ।

राष्ट्रिय महत्वको कार्यक्रम भएकाले एकरुपता दिन ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ बनाएर लागू गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले जनाएको छ । हरेक वर्षको वैशाख २ गते उक्त प्रदर्शनी हुँदै आएको छ ।

यस वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए ।

‘प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाइ लागू गरिएको हो’, कर्माचार्यले भने, ‘अब यही नियम, मापदण्ड र कार्यविधिअनुसार नै प्रदर्शनी सञ्चालन हुनेछ, जसले कार्यक्रमको गरिमा थप बढ्ने विश्वास लिएका छौँ ।’ उनले प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको स्पष्ट पारे ।

नेपाली ललितकलाको संरक्षण सम्वद्र्धन र प्रवर्धनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ अनुसार कार्यविधि बनाएर लागू गरिएको हो ।

हालै जारी गरिएको कार्यविधिले यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरुपमा विधा तोकेको छ । सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ । कार्यविधिमा परम्परागत चित्रकला, आधुनिक चित्रकला (समसामयिक चित्र तथा प्रिन्ट मेकिङ कला), परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीयकला), हस्तकला–शिल्पकलाको विधा छुट्याइएको छ ।

यस्तै वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत वास्तुकला (शास्त्रीय) र अन्य सिर्जनात्मककलातर्फ प्रतिस्थापन तथा भावभङ्गी कला, ग्राफिक्स कम्युनिकेशन (मौलिक, दृष्टान्तकला, कार्टुन, पोष्टर, डिडिटल कला) तथा सिर्जनात्मक छवीकला र सिर्जनात्मक भिडियो कला समावेश गरिएको छ ।

प्रदर्शनका लागि एक वर्षभित्रै रचना गरिएको कलाकृति हुनुपर्ने छ । माध्याम जुनसुकै भए पनि मान्य हुने कार्यविधिमा उल्लेख छ । कलाकार भने १८ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ ।

बढीमा दुई थान कलाकृति बुझाउनुपर्ने, विधागत प्रादेशिकरुपमा पुरस्कृत गरिने, कलाकार दुई विधामा सहभागी भए पनि पुरस्कार भने एक विधामा मात्रै पाइने व्यवस्था गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकृतिको आकारसमेत तोकिएको छ । सोहीअनुसार आएका कलाकृति मात्रै मान्य हुनेछ ।

विधागतरुपमा राष्ट्रिय तथा विशेष पुरस्कार, प्रादेशिक पुरस्कार वितरण गरिने छ । चित्रकलातर्फ आधुनिक र परम्परागतमा एकरएक जनालाई राष्ट्रिय र दुईरदुई जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । मूर्तिकलातर्फ (परम्परागत र आधुनिक) मा तथा हस्तकलारशिल्पकला एवं लोककलातर्फ पनि सोहीअनुसार विधागतरुपमा नै पुरस्कार प्रदान गरिने छ तर तोकिएको विधागमा भने कम्तीमा पाँच कलाकारको सहभागिता अनिवार्य गरिएको छ ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई राष्ट्रिय ललितकला पुरस्कार र चार जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार तथा प्रादेशिक पुरस्कारसमेत वितरण हुनेछ ।

प्रदर्शनीका लागि एक मूल आयोजक समिति गठन हुनेछ । त्यसको मातहतमा रहेर कार्यकारी समिति तथा उपसमिति गठन हुने छन् । सबैको काम, कर्तव्य र अधिकारसमेत स्पष्ट तोकिएको छ । कार्यविधि तयार भएसँगै आगामी वर्षको कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आआफ्ना कलाकृति बुझाउन नाफाले सार्वजनिक सूचना जारी गरी अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७