म्यानमारमा आङ साङ सूचीको पार्टीलाई बहुमत


२५ कार्तिक २०७७, मंगलवार
suchi

काठमाडौं, २५ कार्तिक । म्यानमारको सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।

निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबारमध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो ।

मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।

म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो ।

अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुचीकै पार्टीले जित्ने पुर्वानुमान गरिएको थियो । सुचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उनी म्यानमारमा लोकप्रिय रहेकी छिन् । उनले स्टेट काउन्सिलरका रुपमा सरकार सञ्चालन गरेकी छिन् ।

उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७