शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग


२६ कार्तिक २०७७, बुधबार
kol

डोटी, २६ कार्तिक । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ ।

पछिल्लो समय तोरी पेल्न जताततै विद्युत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परम्परागत कोलुको प्रयोग हुँदै आएको छ ।

काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए । उनले भने, ‘आधुनिक मिलका कारण कोलु अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ । आधुनिक मिल भन्दा कोलुमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ ।’

नयाँ पुस्ताले कोलुलाई बिर्सदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले कोलुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिए ।

ठूलो काठ तथा ढुङ्गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलुमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासीहरु बताउँछन् । पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोलु पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताइन् ।

स्थानीयवासीका अनुसार कोलुमा दिनमा कम्तीमा पनि १० देखि २० लिटरसम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ । पछिल्लो समय कोरना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोलु पुनः सञ्चालन गर्न थालेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–४ का हर्कबहादुर बमले गाउँमा पुराना कोलु, पानी घट्टजस्ता सामानमा रुची बढेको बताए । जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७