ढोलाहिटी–सुनाकोठी सडक मंसिर १५ सम्म कालोपत्र


२६ कार्तिक २०७७, बुधबार
Dholahity road

काठमाडौं, २६ कार्तिक । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मंसिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ ।

तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मंसिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए ।

उनका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुई पटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उनले भने, ‘तिहारलगत्तै कम्पनीले कालोपत्र शुरु गर्नेछ ।’

सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए ।

आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए । मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, ‘कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।’

ढोलाहिटी–लेले सडक विस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ ।

आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार शुरु भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७