मरणासन्न हुने गरी पिटिएका उपप्राध्यापक बैशाखीको सहारामा : अभियुक्त धरौटीमा रिहा, मुख्य योजनाकार पक्राउ नै परेनन्

आक्रमणका मुख्य योजनाकारलाई राजनीतिक संरक्षण


प्रकाशित मिति : November 12, 2020

काठमाडौं, २७ कार्तिक । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करिब पाँच सय मिटर पश्चिमतर्फ प्राध्यापक आवास गृह छन् । दक्षिण–पूर्वी मोहडाको ब्लक नम्बर १५ आवास गृहको मध्यभागमै पर्छ । उपप्राध्यापक प्रेमबहादुर चलाउने सोही भवनमा भेटिए ।

चलाउने उनै हुन्, जो २० असोजमा विश्वविद्यालय प्रांगणमै आक्रमणमा परेका थिए । समाजशास्त्र विभागका उपप्राध्यापक उनी खरानी रङको हुक र ट्राउजरमा थिए । उनी बसेको प्लास्टिकको कुर्सी नजिकै बैसाखी देखिन्थे ।

उनी तिनै बैसाखीतर्फ लम्किए । काँप्दै गरेका दुई हातले बैसाखी ताने र काखीमा अड्याए । तिनैको सहारामा उभिने कोसिस गरे, तर स्टिल हालिएको दायाँ खुट्टाले उनलाई साथ दिएन । फेरि प्लास्टिकको कुर्सीमा बसे ।

‘तपाईंको स्वास्थ कस्तो छ ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनी स्तब्ध बने । उनका आँखा अनायासै चिम्सिए, निधार खुम्चियो । एकटकले नियाली मात्र रहे । ‘शरीरका घाउ त धेरेथोर निको भए, तर मस्तिष्कमा गढेको त्रास कसैगरी हटाउन सकेको छैन,’ उनले आफ्नो त्रसित मनस्थितिमा प्रस्ट्याए ।

बाँसको चिर्पटले ३६ दिनअघि लागेको चोटका टाटा उनको टाउकोमा छँदै छन् । अनुहारमा लागेको दाग मेटिएको छैन । छाती र पेटमा भाटाले घोचिएका घाउ आलै छन् । पिडुँला र तिघ्रामा पनि चोटका दाग उस्तै छन् । दाहिने खुट्टामा स्टिल हालिएको छ । तर, शरीरका बाहिरी घाउले त्यति पीडा दिएका छैनन्, जति मनमा गढेको त्रासले दिएको छ ।

निद्रामा पनि आक्रमणकै त्रास
अचेल उनलाई दिनभन्दा रातले बढी सताउँछ । जब उनी निदाउन खोज्छन्, विश्वविद्यालय प्रांगणमै ३६ दिनअघि भएको सांघातिक आक्रमणका दृश्य मस्तिष्कमा दौडिन थाल्छन् । राति क्वार्टरकै झ्याल तोडेर आक्रमणकारी भित्र छिर्लानझैँ लाग्छ, उनलाई । कहिले झ्याल, ढोका थुनेर बन्दी बनाएझैं लाग्छ ।

‘राति निदाउन खोज्यो कि त्यस दिनको आक्रमणका दृष्यले ऐठन पार्छन्, सुत्नै गाह्रो हुन्छ । कहिले आक्रमणकारी झ्याल तोडेर घरभित्रै छिरेझैं लाग्छ,’ सांघातिक आक्रमणबाट विक्षिप्त चलाउने भन्छन्, ‘जहाँ मैले १३ वर्ष पसिना बगाएँ, जुन ठाउँलाई आफ्नो ठानें । त्यहीं आक्रमणको सिकार भएँ । किन ? जवाफ मैले अझै पाउन सकेको छैन ।’

४३ वर्षीय उनका पत्नी र दुई सन्तान क्वार्टरमै बस्छन् । बैसाखी टेकेर बाथरुम गएको दृष्य उनीहरू टुलुटुलु हेरिरहन्छन् । ओछ्यानबाट उठ्न र दायाँ–बायाँ पल्टिन पनि आमा विमला आमगाईंले सहारा दिने गरेको देख्छन् । र, बाबा–आमा दुवैलाई सोध्छन्, ‘बाबालाई के भएको हो ?’ तर, बाबा–आमा दुवैले उनीहरूलाई जवाफ दिन सकेका छैनन् ।

‘नानीहरू बाबालाई के भएको हो भनेर पटक–पटक सोध्छन् । उनीहरूलाई साँचो बताउन सकेका छैनौँ,’ उनी भन्छन्, ‘बालबालिकाको सबैभन्दा नजिकको र ठूलो सहारा भनेकै बाबुआमा हुन् । उनीहरू नै सांघातिक आक्रमणको सिकार हुन्छन् भन्ने थाहा पाए भने उनीहरूको दिमागमा कस्तो असर पर्ला ? त्यसैले घटनाबारे उनीहरूलाई भन्न सकेका छैनौँ ।’

मुटुको धड्कन अझै सामान्य छैन, उनको । लम्पसार सुत्दा सास अड्किएझैँ हुन्छ । पत्नी विमलाको सहारामा ओछ्यानबाट उठ्छन् । र, धेरैपटक लामो सास तान्छन् । सामान्य अवस्थामा फर्किएपछि मात्रै ओछ्यानमा पल्टिन्छन् । चिकित्सकले उनलाई अझै ६ महिना पूर्ण बेड रेस्ट बस्न सुझाएका छन् ।

३६ दिनअघिको त्यो आक्रमण

२० असोज बिहान ९ः३० बजे । विश्वविद्यालय परिसरस्थित नेपाल बैंंकको एटिएम बुथबाट चलाउनेले १० हजार रुपैयाँ झिके । र, सरासर क्वार्टरतर्फ लम्किए । करिब तीन सय मिटर पश्चिमतर्फ के पुगेका थिए, पछाडिबाटै कसैले पछ्याएझैँ लाग्यो । फरक्क फर्किए । अनुहार ढाकिएका एक युवकले बाँसको चिर्पट उज्याइरहेको देखे । दुवै हातले छेक्न थाले ।

तर, आक्रामक युवकलाई उनले रोक्न सकेनन् । चिर्पट टाउकोमा बज्रियो । अर्का युवक पनि थपिएर छाती र पेटमा प्रहार गर्न थाले । धर्मराउँदै उनी सडकको दायाँबायाँ गर्न थाले । तर, प्रहार रोकिएन । बरु, थप अर्का युवकले प्रहार गर्न थाले ।

निरन्तर प्रहार खप्न नसकेर उनी सडकमै ढले । त्यसपछि पनि प्रहार रोकिएन । सोही क्रममा तीन वटा मोटरसाइकल घटनास्थलमा रोकिए । सोही सडक हुँदै त्रिवि विज्ञान संकाय डिन कार्यालयकी कार्यालय सहयोगी कुमारी बराल जाँदै थिइन् । आक्रमणको दृष्य देखेपछि उनी आत्तिइन् र गुहार माग्दै चिच्याउन थालिन् । क्रिकेट रंगशालामा अन्य कामदार थिए । उनीहरू पनि घटनास्थल आए ।

पक्राउ परिने डरले आक्रमणमा संलग्न तीन युवा निमेषभरमै फरार भए । अनुसन्धानपछि आक्रमणमा सिराहा असनपुर–९ का २३ वर्षीय रूपेश साह, २४ वर्षीय रविकुमार लामा, काठमाडौं–३३ का २३ वर्षीय निरज राना मागर, झापा कोहबरा–९ का २३ वर्षीय सयुस भनिने सयुज श्रेष्ठ र कैलाली गोदावरी–४ का २६ वर्षीय दीपकराज ओझा आक्रमणमा संलग्न रहेको खुलेको छ । प्रहरीले सबैलाई पक्राउ गरिसकेको छ । र, उनीहरूले अपराध स्वीकार गरेका छन् ।

अदालतले अभियुक्तलाई धरौटीमा छाड्यो

तर, जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साह र लामा ५०–५० हजार धरौटीमा रिहा भएका छन् ।

यस्तै, रानामागर ३५ हजार र श्रेष्ठ ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । अर्का अभियुक्त ओझा पनि हिरासतमुक्त हुने प्रक्रियामा छन् । जिल्ला अदालत, काठमाडौंका स्रेस्तेदार भीम निरौलाका अनुसार अभियुक्त ओझा कारोना संक्रमणका कारण क्वारेन्टाइनमा छन् ।

अदालतको आदेशबारे जानकारी पाएका चलाउने भने मर्माहत भएका छन् । ‘विश्वविद्यालय परिसरमै म आक्रमणमा परें । अभियुक्तले घटना स्वीकारेका छन् । तर, अदालतले उनीहरूलाई नै धरौटीमा छाड्ने आदेश दिन्छ ।

प्रश्न मैले न्याय पाएँ कि पाइनँ भन्ने होइन । प्रश्न हामीले कस्तो समाज निर्माण गर्दैछौँ भन्ने हो,’ उनी भन्छन्, ‘एउटा निहत्था प्राध्यापकमाथि आक्रमण गर्ने अभियुक्त यसैगरी छुट्दै जाने हो भने भोलि जोकोहीले पनि यही नियति भोग्नुपर्छ । मेरो चिन्ता यसमै हो ।’

आक्रमणका मुख्य योजनाकारलाई राजनीतिक संरक्षण

घटनाका अभियुक्त रूपेश साहले प्रहरीमा बयान दिएका छन्, ‘त्रिविका नेविसंघ सभापति हरि आचार्यले मलाई १९ असोज साँझ ८ बजे फोन गरे । त्रिवि सामाजशास्त्र संकायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई ठीक पार्न भने । त्यसका लागि आवश्यक मानिस मिलाउन मलाई भने । त्यसबापत चाहिने सहयोग भने योगेन्द्र रावलले मिलाइदिने भने । सोहीअनुसार मैले चारजना केटा ठीक पारें । चलाउनेको हुलिया रावलले दिए । अनि हामीले चलाउनेलाई आक्रमण ग¥यौं ।’

बयानपत्रमा रूपेशलाई हरिले गरेको फोन नम्बर पनि उल्लेख छ । सोहीअनुसार उनले योगेन्द्रलाई भेटेको र उनैबाट चलाउनेको हुलिया र तस्बिर लिएको रूपेशले बयान दिएका छन् । हरि र योगेन्द्रकै सहयोगमा घटनापछि भाग्न सफल भएको र आक्रमणका लागि उनीहरूले २० हजार रुपैयाँ दिएको पनि बयानमा उल्लेख छ । तर, प्रहरीले घटनाका मुख्य योजनाकार हरि र योगेन्द्रलाई पक्राउ गर्न सकेको छैन ।

उपप्राध्यापक चलाउने अनुसन्धानको यही पाटोमा सन्देह व्यक्त गर्छन् । मुख्य योजनाकार हरि र योगेन्द्र राजनीतिक संरक्षणमा रहेको उनको दाबी छ । भन्छन्, ‘प्रहरीले घटना अनुसन्धान ग¥यो । पक्राउ पनि गर्‍यो । यसमा मलाई सन्देह छैन । तर, हरि र योगेन्द्र पक्राउ परेनन् । जब कि, आक्रमणको मुख्य योजनाकार उनीहरू हुन् । राजनीतिक संरक्षण पाएका कारण उनीहरू जोगिएको मैले बुझेको छु ।’

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली भने उनीहरू फरार रहेको बताउँछन् । भन्छन्, ‘मिसिलमा उनीहरू फरार रहेको उल्लेख गरेका छौँ । अब उनीहरूलाई हामीले पक्राउ गर्नुपर्दैन । उनीहरू सीधै अदालतमा हाजिर भएर बयान दिन सक्छन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्