नागोर्नो–काराबाख इलाकामा रुसले तैनाथ गर्‍यो शान्ति–सैनिक


२७ कार्तिक २०७७, बिहीबार

काठमाडौं, २७ कार्तिक । अर्मानिया र अजरबैजानबीच भएको सम्झौतापछि नागोर्नो र काराबाखको विवादित हिस्सामा रुसले सयौं शान्ति सैनिक टुकडी तैनाथ गरेको छ ।

अर्मानिया र अजरबैजानबीच हप्तौंसम्म भारी लडाईं चल्यो । सोमबार रुस यी दुई देशबीच एक शान्ति सम्झौता गराउन सफल रह्यो । नागोर्नो र काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा अजरबैजानको हिस्सा मानिन्छ । तर सन् १९९४ देखि त्यो इलाका त्यहाँ बस्ने जातीय अर्मानियाली मानिसहरुको हातमा छ ।

azerbaijan armania3 FX9XUlYoEB

रुसद्वारा गराइएको शान्ति सम्झौताले अजरबैजानमा त खुसीको लहर देखिएको छ र तर अर्मानियामा केही मानिसहरुले यो विषयमा रोष प्रकट गरेका छन् । शान्ति सम्झौताको शर्त अनुसार अजरबैजान ती इलाकामा अब आफ्नो नियन्त्रण कायम गर्न सक्नेछ जहाँ उसले लडाईंको क्रममा अर्मानियाबाट खोसेको छ ।

azerbaijan armania1 7ShvWMOabZ

‘अजरबैजानको जीत र अर्मानियाको हार’
यस बाहेक अर्मानियाको सरकार अबको केही हप्तामा अन्य थुप्रै आसन्न इलाकाबाट पनि पछि हट्नका लागि सहमत भएको छ । अजरबैजानको राजधानी बाकूमा रहेको बीबीसी संवाददाता ओरला गुएरिन भन्छन्, ‘यो सम्झौतालाई अजरबैजानको जीत र अर्मानियाको हारको रुपमा हेरिएको छ ।’

अर्मानियामा जो मानिसहरु यो सम्झौताले निराश छन्, उनीहरु प्रदर्शन गर्नका लागि बाहिर निस्किएका छन् । केही प्रदर्शनकारीले सरकारी भवनमा क्षति पुर्‍याएका छन् र उनीहरु प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामाको माग गरिरहेका छन् ।
थप के कुरामा सम्झौता भए ?
यो शान्ति सम्झौतमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अजरबैजानका राष्ट्रपति इलहाम अलियेव र अर्मानियाका प्रधानमन्त्री निकोल पाशिन्यानले हस्ताक्षर गरेका छन् र यो सम्झौता स्थानीय समयानुसार मंगलबार राति एक बजेदेखि लागू भएको छ ।

azerbaijan armania2 DIU0KOsUL1

सम्झौतामाथि हस्ताक्षर गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक टेलिभिजिन सम्बोधनमा भने, ‘रुसको शान्ति सैनिकलाई गस्तीका लागि फ्रन्ट लाइनमा तैनाथ गरिनेछ । यसो गरेर कुनै प्रकारको झगडा नहोस् भनेर सुनिश्चित गर्न खोजिएको छ ।’

उनका अनुसार रुसको शान्ति सैनिकका केही टुकडी मंगलबार उल्यानोस्कको एक एयरबेसबाट नागोर्नो र काराबाख क्षेत्रका लागि पठाइसकिएको छ । कम्तीमा दुई हजार रुसी सैनिक अन्ततः यो क्षेत्रमा सक्रिय हुनेछन् जसले लाचिन करिडोरको हेरविचार गर्नेछन् ।

लाचिन करिडोरले काराबाखको राजधानी स्टेपनाकर्टलाई अर्मानियासँग जोड्छ । यसबाहेक यो क्षेत्रमा ९० बख्तरबन्द वाहन पनि तैनाथ गरिनेछ । यसलाई पञ्चवर्षीय योजनाको हिस्साको रुपमा लिइएको छ । राष्ट्रपति पुटिनले भनेका छन्, ‘यो शान्ति सम्झौतापश्चात् सबै आर्थिक र परिवहन सम्पर्क बहाल गरिनेछन् । साथै सम्झौता अनुसार युद्धबन्दीलाई पनि एक–अर्कालाई सुम्पिइनेछ ।’

रुसको अर्मानिया र अजरबैजान, दुबैसँग निकटतम सम्बन्ध छ । रुसले यी दुबै देशलाई हतियार बेच्छ । यसबाहेक अर्मानियामा रुसको आर्मी बेस पनि छ र दुबै देश (रुस–अर्मानिया) बीच सैन्य गठबन्धन पनि छ ।

यस्तै टर्की, जसले खुल्ला रुपमा अजरबैजानको समर्थनमा भएको घोषणा गरेको थियो, पनि यो शान्ति प्रक्रियामा हिस्सा लिइरहेको छ । अजरबैजानका राष्ट्रपति इलहाम अलियेवले यसको जानकारी दिएका छन् । यद्यपि, टर्कीको यो सम्झौतामा कस्तो भूमिका छ, यसको स्पष्ट जानकारी भने दिइएको छैन ।

बीबीसी संवाददाता ओरला गुएरिनले बाकूमा उत्सवको माहौल भएको बताएका छन् । उनका अनुसार सडकमा जताततै झण्डा लगाइएको छ र मानिसहरुलाई हेर्दा यस्तो लाग्छ कि उनीहरुलाई आफ्नो जीतको महसुस भएको छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७