कालपोखरीमा बीओपी स्थापना


प्रकाशित मिति : November 12, 2020

इलाम, २७ कार्तिक । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा) को दुई तले र पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।

बीओपीको उद्घाटनमा प्रदेश नं. १ का सांसद खिनु लाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजङ्ग थापा, भारतीय एसएसबीका बीएन जी कोयलगायत उपस्थिति थिए ।

पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्न थालिएको छ । केही समयअघि मात्रै छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा पनि बीओपी स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्