देशकै ठूलो ढल्केबर सबस्टेशन सञ्चालनमा

नेपाल-भारत दुवैतर्फबाट १२ सय मेगावाट विद्युत आदान–प्रदान गर्न सकिने


२७ कार्तिक २०७७, बिहीबार
dhalkebar

काठमाडौं, २७ कार्तिक । निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको सङ्क्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो सबस्टेशन ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई फूल लोडमा चार्ज भएको जनाएको छ ।

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदान प्रदानका लागि मार्ग प्रशस्त भएको छ । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत समेत सोही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।

उक्त सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कूल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा उक्त सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो ।

नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइन समेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदान प्रदानका लागि महामार्ग समेत निर्माण भइसकेको छ ।

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउन समेत मार्ग प्रशस्त भएको छ ।

सो सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

गत वैशाख अन्तिम साता नै सो सबस्टेशन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पुर्‍याउन सकिएको थिएन ।

पूर्व कार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि असाध्यै ठूलो महत्वपूर्ण उपलब्ध भएको बताए । विसं २०७५ सालदेखि निर्माण शुरु भएको सो सबस्टेशन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उनले निर्माण सम्पन्न भई सञ्चालनमा आएको भन्दै सरोकार भएका सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७