शिक्षण अस्पतालको प्लाज्मा फेरेसिस गर्ने मेसिन बिग्रियो

दुई हप्तादेखि कोरोना संक्रमितको प्लाज्मा थेरापी प्रभावित


२८ कार्तिक २०७७, शुक्रबार
teaching hospital2019 05 12

काठमाडौं, २८ कार्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमितलाई दिइने प्लाज्मा थेरापी सेवा प्रभावित भएको छ । प्लाज्मा फेरेसिस गर्ने एफेरेसिस मेसिन दुई साताअघि बिग्रिएको अस्पतालले जनाएको छ ।

यो मेसिनले प्लाज्मासँगै आरविसी, प्लेटलेटलगायत धेरै प्रकारका फेरेसिस गर्छ । यसले रगत निकालेर प्लाज्मा बनाउने नभएर दाताको शरिरबाट सिधै सेतो रगत छुट्याएर प्लाज्मा अर्को व्यक्तिमा पठाउने काम गर्छ ।

अरु मेसिनबाट भने रगत निकालेर प्लाज्मा छुट्याउनु पर्छ । चिकित्सकहरूका अनुसार यत्तिको अत्याधुनिक मेसिन नेपालका अन्य अस्पतालमा छैन् । ‘प्लाज्मा निकाल्ने क्रममा यो मेसिनले दाताको शरिरमा कुनै प्रकारको समस्या गर्दैन, हेमोग्लोबिन समेत घट्न दिँदैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले भने ।

नेपालमै पहिलो पटक गत १६ साउनमा शिक्षण अस्पतालमा कोरोना संक्रमणमुक्त भएका एक पुरुषबाट प्लाज्मा निकालेर संक्रमितमा चढाइएको थियो । कुनै व्यक्ति कोरोनामुक्त भएपछि उसमा रोग प्रतिरोधी ‘एन्टिबडी’ विकास भएको हुन्छ । आवश्यक परे त्यस्तो एन्टिबडीको सहयोगले आइसियुमा पुगेका कोरोना संक्रमितको रगतमा मिसाएर उपचार गरिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि प्रभावकारी उपचार पद्धती भएको सुझाव सरकारलाई दिएको छ । प्लाज्माको प्रभावकारीताबारे अध्ययन गरी परिषद्ले पहिलो चरणको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई पठाएको थियो ।

परिक्षणका रुपमा एक हजार चार सय संक्रमितमा प्लाज्मा थेरापी गर्ने सरकारको लक्ष्य छ । अहिलेसम्म चार सयको प्लाज्मा थेरापी गरिएको छ । शिक्षण अस्पतालले मात्रै ४० जनाभन्दा बढीको प्लाज्मा थेरापी गरिसकेको छ । अहिले देशभरका २० अस्पतालमा प्लाज्मा थेरापीको सेवा छ ।

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार बिग्रिएको मेसिन बनाउने काम अघि बढाइएको छ । मेसिन बिग्रिएपछि हाल अस्पतालले बाहिरबाट प्लाज्मा ल्याएर हप्तामा दुई जनालाई सेवा दिने गरेको छ ।

१९१३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय १३ जनामा कोराना संक्रमण पुष्टी भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । तिमध्ये एक लाख ६४ हजार पाँच सय ९२ जना निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार एक सय ८९ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १५ जनाको मृत्यु भएको उनले बताए । मन्त्रालयको तथ्यांक अनुसार अहिले तीन सय ७३ जनाको आइसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७