बैतडीमा बस दुर्घटना : नौं जनाको ज्यान गयो, ४० बढी यात्रु घाइते


२८ कार्तिक २०७७, शुक्रबार
Accident Bus 2

बैतडी, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा नौं जनाको ज्यान गएको छ । ४० बढी यात्रु जना घाइते भएका छन् ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस गए करीब साढे १० बजेतिर राति खोड्पे बजार नजिक सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एक जनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको हो ।

घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको थियो । रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आएको छैन ।

घटनास्थलबाट बैतडीका प्रहरी निरीक्षक धनदेव साउदले बताएअनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए । बस सडकबाट झण्डै ६ सय मिटर तल खसेकोले बस दुई टुक्रा भएको बताइएको छ ।
क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफै चालक रहेका र उनीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७