लम्की–टीकापुर–खक्रौला सडकको काम शुरु


२९ कार्तिक २०७७, शनिबार
PicsArt 08 03 02.20.34

कैलाली, २९ कार्तिक । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो ।

हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने (सतह निर्माणको) काम भइरहेको आयोजनाले जनाएको छ ।

लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९.७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम शुरु भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जिनियर पदम मडैले जानकारी दिए ।

‘सडक निर्माण कार्य ३० महिनामा सक्नुपर्ने समय छ । अहिले पहिलो चरणमा माटो फिलिङ र क्षेत्र छुट्याउने काम भइरहेको छ’, इञ्जिनियर मडै भन्छन्, ‘यतिखेर धमाधम सतह निर्माणको काम थालिएको छ ।’

हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर सडक निर्माणका लागि कालिका कुमार जेभी काठमाण्डौको २०७७ साल जेठ २८ गते रु. ४० करोड, १९ लाख, ९१ हजार ६१६ मा ठेक्का सम्झौता भएको छ भने दोस्रो खण्ड १० किलोमिटर निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेको २०७७ साल जेठ २६ गते रु. रु. ४० करोड, ९९ लाख, ९ हजार, ६८३ मा ठेक्का सम्झौता भएको छ ।

बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्वा जगदम्वा जेभी काठमाण्डौले २०७७ साल असार १४ गते रु. ३३ करोड, २० लाख, ६६ हजार, ६ सय ३० मा ठेक्का सम्झौता गरी काम शुरु गरेको छ । तिनै ठेक्काको सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको आयोजनाले जनाएको छ ।

जम्मा २९.७ किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने ६.३ किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण हुने इञ्जिनियर मडै बताउँछन् । ‘पहिलो प्याकेजमा साढे दुई किलोमिटर चार लेन छ, दोस्रो प्याकेजमा ३.१ किलोमिटर चारलेन छ । तेस्रोमा सात सय मिटर चार लेन छ । बाँकी सडक दुई लेन निर्माण हुनेछ’, उनी भन्छन्, ‘सडकमा सातसात मिटर कालोपत्रे, नाला र फुटपाथ बन्छ ।’

लामो समयपछिसडकको स्तरोत्रति हुन थालेपछि स्थानीय नागरिक खुशी भएका छन् । सडक बन्नु राम्रो काम भएको, बनिरहेको सडक गुणस्तरीय हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले पनि निगरानी गर्नुपर्ने दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर विष्ट बताउँछन् । ‘लम्कीदेखि खक्रौलासम्मको बाटो गुणस्तरीय भए यहाँको विकासमा सहयोग पुग्छ, व्यापारिक विकासमा थप योगदान पुग्छ’, विष्ट भन्छन्, ‘स्थानीय सरकारले पनि अनुगमन गर्न आवश्यक छ ।’

यसअघि ५ वर्षअघि कालोपत्रे गरिएको लम्की–टीकापुर सडक खण्ड कालोपत्रे गरिएको ६ महिनामै भत्किएको थियो । अहिले बनिरहेको सडकको अवस्था त्यस्तो नहोस् भन्नेमा आफू सजग रहेको र त्यसका लागि तिहारपछि निर्माण कम्पनीसँग समन्वय गर्ने जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए ।

‘सडक निर्माण शुरु भइसक्दा पनि हामीसँग सहकार्य भएको छैन तर हामी चासो दिन्छौँ’, अध्यक्ष चौधरीले भने, ‘तिहारपछि औपचारिकरुपमा उहाँहरुलाई बोलाएर छलफल गछौँ । हाम्रो ठाउँको बाटो बनिरहेकाले गुणस्तरीय बनाउन सहयोगी बन्छौँ ।’ हुलाकी राजमार्गअन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा पर्ने यस सडकले कैलालीको लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई छोएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७