साढे २४ करोडको पुल बन्दा–बन्दै अलपत्र, नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता


३० कार्तिक २०७७, आईतवार
IMG 9207 scaled e1601890448856

कञ्चनपुर, ३० कार्तिक । कञ्चनपुर जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ ।

लालझाडी–४ का लोकेन्द्र रानाले दशकौंदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोखे । ‘पहाडमा तुइन तरेझैं हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २०० तिनुपर्छ ।’

IMG 9219 scaled 1

लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । ‘हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ’, रानाले भने, ‘बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।’

यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ । ‘बन्दाबन्दीले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ’, रानाले भने, ‘मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ ।’

दोदा नदीमा वारपार गर्न साइकलको रु २० र मोटरसाइकलको रु २०० तिर्नुपर्छ । गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन । स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताए । ‘रातिको समयमा कसैलाई अस्पताल लैजानु प¥यो भने निकै समस्या हुन्छ’, उनले भने, ‘सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौँ ।’

त्यसैगरी लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउँछन् । ‘नदी पारपार गर्ने क्रममा विगतमा दुई–तीन स्थानीयवासीले ज्यान समेत गुमाइसके’, उनले भने, ‘वारी घर पारी खेत हुनेको पनि समस्या नै छ ।’

ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ । स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन् । पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निर्माण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि २०७२ पुसमा रु २४ करोड ५३ लाखमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७