अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानको हत्या प्रयास


३० कार्तिक २०७७, आईतवार
Nikol Pashinyan

काठमाडौं, ३० कार्तिक । अर्मेनियाले प्रधानमन्त्री निकोल पाशिन्यानको हत्याको प्रयास भएको बताएको छ । पूर्व अधिकारीहरुको समूहले पाशिन्यानको हत्या गर्ने र शक्ति आफ्नो हातमा लिने प्रयास गरेको अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिस (एनएसएस) ले जनाएको छ ।

गत मंगलबारदेखि अर्मेनियामा प्रधानमन्त्रीको राजीनामाको माग गर्दै हजारौंले प्रदर्शन गर्दै आएका छन् । अजरबैजानसँगको विवादित भूमि नागोर्नो काराबखबारे जारी युद्धपछि भएको युद्धविराम सम्झौतामा आपत्ति जनाउँदै प्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । ६ सातासम्म चलेको उक्त युद्धमा अर्मेनियाले उक्त विवादित भूमिको केही स्थानको नियन्त्रण गुमाएको थियो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै एनएसएसले आफ्ना पूर्व प्रमुख अर्टुर वनेत्स्यानसहित तीन जनालाई नियन्त्रणमा लिइएको बताएको छ । पक्राउ गरिएकाहरुले पाशिन्यानको हत्या गरी शक्ति आफ्नो हातमा लिने दाउ रहेको विज्ञप्तिमा उल्लेख छ ।

गत साता पाशिन्यानले आफ्नो नियन्त्रणमा रहेका अझै अरु भूमिहरु नगुमाउन आफूसँग रुसले गराएको यो सम्झौतामा हस्ताक्षर गर्नुको विकल्प नरहेको बताएका थिए । उनले यो युद्धबाट पछि हटेकोमा आफूले व्यक्तिगत जिम्मेवारी लिने तर राजीनामा नदिने बताएका थिए ।

नागोर्नो काराबख अन्तर्राष्ट्रियरुपमा अजरबैजानको भूमि हो । तर, यो क्षेत्रमा अर्मेनियाको नियन्त्रण रहँदै आएको छ । युद्धपछि अहिले भएको सम्झौतापछि अहिले उक्त विवादित क्षेत्रमा सम्झौता उल्लंघन नहोस् भनेर दुई हजार रुसी शान्ति सेना परिचालन गरिएको छ । अलजाजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७