तिहारमा पनि बिक्री भएन पाल्पाली ढाका टोपी र झिनियाँ


३० कार्तिक २०७७, आईतवार
20191027175132 127569

पाल्पा, ३० कार्तिक । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् ।

यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको संख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।

अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो ।

यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाई दिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय छ ।

अघिल्ला वर्षमा टाढाटाढाबाट पनि ढाका टोपी किन्न बजार आउने गरेकामा यसपालि भने टाढा या नजीकै ग्राहक पनि आएका छैनन् । यसैले यस पटक ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ । कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।

त्यसैगरी, तिहार पर्वका अवसरमा झिनियाँ रोटीलाई विशेष परिकारका रुपमा लिइने गरिन्छ । पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण यस पटक झिनियाँ व्यवसायमा पनि उतारचढाव आएको छ । अघिल्ला वर्षको तुलनामा व्यापारमा कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।

‘अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक शुरु भएपछि झिनियाँ लिन आउँथे बिक्री गर्न पनि भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् न भनेर भन्नुपर्ने अवस्था आएको छ’, उनले भने । उनले लामो समयदेखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आएका छन् । गत वर्ष तिहारमा मात्रै रु एक लाख ५० हजार बराबरको झिनियाँ बिक्री गरेका श्रेष्ठले अहिले भने त्यो अवसर नै पाएनन् ।

चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । घरमै बसेर घरायसी कामकाज गर्दै झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने लक्ष्मी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘काम दुःख होइन, घरमै झिनियाँ बनाएर राम्रैसँग आम्दानी गरिन्थ्यो तर यस वर्ष झिनियाँ खरिद गर्ने ग्राहक कम आउँदा व्यापार भएन ।’

विशेष गरी महिलाहरुले झिनियाँ रोटी बनाएर आफ्नो आयस्रोत बलियो बनाउने गरेका छन् । धेरै लगानी र मिहिनेत गर्नुनपर्ने, घरायसी काम गर्दै पनि झिनियाँ बनाएर राम्रै कमाई हुने भएपछि पछिल्लो समय झिनियाँ व्यवसायमा महिलाको आकर्षण बढ्दो छ ।

रामपुर क्षेत्रमा उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विशेष परिकारका रुपमा झिनियाँ खुवाउने चलन रहेकाले झिनियाँ खरिद गर्ने गरेको रामपुरका स्थानीयवासी नर्मदा राना बताउँछन् ।

पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि प्रयोग गर्ने गरिएको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघी, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा पनि यसको प्रयोग हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७