झाडीभित्र बोरामा भेटियो ९७ लाख


३० कार्तिक २०७७, आईतवार
money 1

चितवन, ३० कार्तिक । चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् ।

उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा निज कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी रु ९७ लाख र चोरी कार्यमा प्रयोग हुने औजारहरू समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले बताए ।

चार दिनमा ४६ जना फरार पक्राउ

यसैबीच, चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ४६ जना व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबरजस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरुष र एक महिला गरी ४६ जना फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक) थापाले जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता थापाले बताए । जसबाट ७ वर्ष ९ महिना २६ दिन कैद र रु चार लाख आठ हजार ३११ रकम असुल उपर भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७