भाइटीका लगाउँदा कुन दिशा फर्किने, कुन–कुन रङ्गको टीका बनाउने ?


१ मंसिर २०७७, सोमबार
1541739205IMG 8950

काठमाडौं, १ मंसिर । आज (सोमबार) तिहारको मुख्य दिन । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाई दिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । यसबारे जान्न र बुझन जरुरी छ ।

जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका ।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।

तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्ती भन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

कुन दिशा फर्केर भाइटीका लगाउने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नुपर्छ ।

त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७