डोल्पामा हिमपात, जनजीवन कष्टप्रद


१ मंसिर २०७७, सोमबार
IMG 2870 rp0SgildT3

डोल्पा, १ मंसिर । डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।

भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए । हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिले पनि निरन्तर रुपमा हिमपात भइरहेको उनको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ । माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ । वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्व समेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७