आइसोलेसनमा बसेकालाई सामुहिक भाइटीका


प्रकाशित मिति : November 17, 2020

सुनसरी, २ मंसिर । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामुहिक भाइटीका लगाइएको छ ।

आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीं रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाई दिएकी हुन् ।

साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मीलाई टीका लगाई दिइन् । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन कक्ष पुगेकी थिइन् ।

सङ्क्रमितहरुले वर्ष दिनको चाडबाडमा आइसोलेसन कक्षमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका थिए । चाडबाडमा समेत सेवामै खटिएका सुरक्षाकर्मीलाई टीका लगाइदिँदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष व्यक्त गरेको उपप्रमुख गौतमले बताइन् ।

वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले वताइन् । दशैंका बेला पनि इटहरी आइसोलेसन केन्द्रमा सामुहिक टीका लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्