ओली सरकार विघटन भए देशमा अस्थिर निम्तिन्छ : मसाल


२ मंसिर २०७७, मंगलवार
mohanbikram singh

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपामा देखिएको अन्तर संघर्षप्रति चिन्ता व्यक्त गरेको छ ।

मसालका महामन्त्री मोहविक्रम सिंहले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाको अन्तर संघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति ध्यानाकर्षण गराएका छन् ।

‘नेकपाभित्रको अन्तर संघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौं र अहिले पनि हाम्रो त्यो नीति कायम छ’, विज्ञप्तिमा भनिएको छ ।

जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तर संघर्षबाट प्रसन्न रहेको मसालको बुझाइ छ । नेकपामा फुट आए देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जाने विज्ञप्तिमा उल्लेख छ ।

तात्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकतालाई स्वागत गरे पनि त्यो एकता कम्युनिष्ट एकता नभएको र एकताद्वारा एकीकृत कम्युनिष्ट पार्टीको निर्माण पनि भएको सिंहले बताएका छन् ।

‘नेकपाभित्र व्यक्तिगत रुपमा एक–अर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ’, सिंहले भनेका छन्, ‘त्यसप्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिष्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिकस्तरको परिणाम हो । हाम्रो पार्टी पनि त्यस प्रकारको गालीगलौज वा चरित्र हत्याको धेरैपल्ट शिकार भएको छ ।’

नेकपाले एउटा कम्युनिष्ट पार्टीको जस्तो मात्र नभएर बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो अन्तर संघर्ष समेत चलाउन नसकेको मसालको आरोप छ । ’अधिनायकवादी वा निरङ्कुश प्रणालीहरुमा भन्दा बेग्लै एउटा प्रजातान्त्रिक पार्टीले सँधै नै बहुमतको निर्णयलाई मानेर काम गर्नुपर्दछ । तर नेकपाभित्र त्यो पद्धतिले काम गर्न छाडे जस्तै देखिन्छ,’ सिंहले भनेका छन् ।

नेकपामा फुट आएमा उनीहरु कहिल्यै उठ्न नसक्ने उनले चेतावनी दिएका छन् । ‘उनीहरुको बीचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणामहरु हुनेछन् ? खाली देशको राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरुको लागि पनि सांघातिक प्रकारले ठूलो क्षति पुग्ने छ, शायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर’, उनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७