प्रचण्डले वैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग ओलीको छलफल


२ मंसिर २०७७, मंगलवार
oli poudel pokhrel

काठमाडौं, २ मंसिर । सचिवालय वैठक सार्न गरिएको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्वीकार गरेपछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सघन परामर्श र रणनीति निर्माणमा जुटेका छन् ।

सचिवालय वैठक केहि दिन पछि सार्न गरिएको प्रस्तावमा कार्यकारी अध्यक्ष प्रचण्डले वैठक सार्ने, नसार्नेबारेको छलफल पनि भोलि (बुधबार) को सचिवालय वैठकमै गर्नुपर्ने अडान लिएपछि ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री एवम पार्टी महासचिव बिष्णु पौडेल बालुवाटारमा छलफलमा जुटेका हुन् ।

भोलिका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न तीन नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

विहान खुमलटारस्थित प्रचण्ड निवास पुगी छलफल गरेर फर्केका पोखरेल मध्यान्ह १२ बजेदेखि बालुवाटारमै प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । भोलिको बैठक रोकेर सहमतिको प्रयास जारी राख्न पौडेल दौडधुप समेत गरिरहेका छन् । पौडेलले प्रचण्डलाई भेटेर उनले शुक्रबार सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रचण्डले उनको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनको सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव आपसी रणनीति तय गर्न बालुवाटारमा जुटेका हुन् । प्रचण्डले सचिवालयमा वितरण गरेको राजनीतिक प्रस्ताव आफूविरुद्धको आरोप मात्र भएको बताउँदै अध्यक्ष ओलीले यसबारे कुन जवाफ नदिने स्पष्ट पारिसकेका छन् । त्यस्तै भोलिको सचिवालय वैठकमा उपस्थित नहुने सोंचमा देखिएका ओलीले वैठकको पूर्वसन्ध्यामा निकट नेताहरुसँग परामर्श थालेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँगको छलफलमा सक्रिय भइरहेका बेला प्रचण्ड निवास खुमलटारमा पनि वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले छलफल र परामर्श गरिरहेका छन् ।
पार्टीभित्रको चरम विवादका कारण अहिले नेकपाको भविष्य नै संकटमा परेको छ । शीर्ष नेताहरुको आरोप प्रत्यारोप र अडानका कारण नेकपा विभाजनको डिलमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७