चिनियाँ राजदूत यान्छी फेरि सक्रिय, मंगलबार राती प्रधानमन्त्रीसँग तीन घन्टा छलफल


३ मंसिर २०७७, बुधबार
Hou Yanqi chinesambassadar iywIlZntdd

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छिन् । यसअघि पनि नेकपा भित्रको शक्ति संघर्ष चलेको बेला सक्रिय भएकी यान्छी फेरि सक्रिय भएकी हुन् ।

राजदूत यान्छीले मंगलबार राती नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी छिन् । स्रोतका अनुसार मंगलबार राती आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा छिरेकी राजदूत यान्छीले करिब तीन घन्टा प्रधानमन्त्री ओलीसँग ‘गोप्य’ भेट गरेकी छिन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपा भित्रको पछिल्लो समस्या बारेमा छलफल भएको छ ।

उच्च स्रोतका अनुसार राजदूत यान्छीले प्रधानमन्त्रीसँग भेटे लगत्तै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई भेट्नका लागि समय मिलाएकी छिन् । स्रोतले भन्यो,‘सम्भवत बुधबार बिहान भेट हुनेछ ।’

पछिल्लो समयमा नेकपाभित्रको विवाद उत्कर्षमा छ । २२ कार्तिकमा अध्यक्ष प्रचण्ड सहित ५ सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले कात्तिक २५ गते १० पेज लामो पत्र प्रचण्डलाई लेखेका थिए ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको १९ पन्ने जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका छन् । यो पत्रपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । यही १९ पन्ने जवाफलाई प्रचण्डले राजनीतिक प्रस्तावको रुपमा सचिवालयमा प्रस्तुत गरेका छन् ।

सचिवालयको बैठक बुधबार ३ मंसिर मा बोलाइएको छ । प्रधानमन्त्री ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका छन् ।
निर्णायक बैठकको रुपमा हेरिएको यो बैठक अघि चीन सक्रिय भएपछि चासोका साथ हेरिएको छ ।

बुधबारको बैठक अघि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । यो भेट लगत्तै पूर्व माओवादी निकट नेताहरुसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७