अब स्थानीय तह आफैले विद्यालय खोल्न–बन्द गर्न सक्ने, सरकारले दियो यी सात विकल्प


३ मंसिर २०७७, बुधबार
school

काठमाडौं, ३ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।

हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो ।

कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ ।

सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशङ्का पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गर्न सकिने छ । त्यस्तै जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने छ ।

स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधारको व्यवस्था गर्नुपर्ने छ ।

त्यस्तै स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यी हुन् सरकारले दिएका सात विकल्प
१. सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने ।

२.अलग–अलग समयमा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने ।

३.विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि घन्टी छोट्याउने ।

४.जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले सुरु गर्ने ।

५.कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।

६.एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।

७.हप्तामा केही दिन वा दिनमा केही घन्टा कक्षा सञ्चालन गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७