वारपारकाे अवस्थामा नेकपा विवाद : सचिवालय बैठककै समयमा मन्त्रीपरिषद् बैठक


३ मंसिर २०७७, बुधबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद वारपारको अवस्थामा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठककै समयमा मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

यसअघि २८ कात्तिकमा बसेको सचिवालय बैठक आज बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको थियो । सचिवालयको पूर्वनिर्धारित समयमै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार दिउँसो १ बजे मन्त्रीपरिषद् बैठकको लागि खबर आएको छ । यसअघि सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो ।

पछिल्लो समयमा नेकपाभित्रको विवाद उत्कर्षमा छ । २२ कार्तिकमा अध्यक्ष प्रचण्ड सहित ५ सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले कात्तिक २५ गते १० पेज लामो पत्र प्रचण्डलाई लेखेका थिए ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको १९ पन्ने जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका छन् । यो पत्रपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । यही १९ पन्ने जवाफलाई प्रचण्डले राजनीतिक प्रस्तावको रुपमा सचिवालयमा प्रस्तुत गरेका छन् । १९ पेज लामो प्रस्ताव प्रधानमन्त्री ओली विरुद्धको प्रहारमा केन्द्रीत छ ।

प्रधानमन्त्री ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका छन्, भने बुधबार नै बैठक राख्ने तयारीमा छन् ।

बुधबारको बैठकलाई वारपारको बैठकको रुपमा हेरिएको छ । यही बैठकको समयमा मन्त्रीपरिषद् बैठक बोलाइएपछि थप तनावको अवस्था देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७