चार प्रस्ताव राखेकी राष्ट्रपतिलाई प्रचण्डले दिए यस्ता तीन सुझाव

‘ओलीका सबै निर्णयमा साथ नदिनुहोस्, स्थिति सुधार नभए ओलीको विकल्प पार्टीले खोज्छ’


३ मंसिर २०७७, बुधबार
prachadna

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पार्टी विभाजन नजिकै पुगेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि एकाएक बढेको छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली सचिवालय वैठक छल्न लागि परिरहेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तय भइसकेको सचिवालय वैठक निर्धारित समयमै हुनुपर्ने अडानमा बसिरहेका बेला दुई अध्यक्षलाई मिलाउन राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छिन् ।

अहिले पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमै रहेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) पार्टी सचिवालय बैठक राखिएको समयमै मन्त्रीपरिषदको बैठक आयोजना गरेपछि सत्तारुढ नेकपाभित्रको विवाद साम्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अन्तिम प्रयास असफल हुने संकेत देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली सरकार सञ्चालन गर्न असफल भएको र पार्टी पनि राम्रोसँग चलाउन नदिएको भन्दै राजीनामा दिएर निकास दिनु पर्ने प्रस्ताव ल्याएपछि नेकपाको विवादले निर्णायक मोड लिएको छ ।

शीर्ष नेताहरूले पार्टी एकता अप्ठेरोमा परेको बताइरहेका बेला राष्ट्रपति भण्डारीले मंगलबार अध्यक्ष प्रचण्डलाई शितल निवास बोलाएर सहमति कायम गर्न चार वटा प्रस्ताव राखेकी थिइन् ।
एक–तपाईं र ओलीको पहलमा पार्टी एकता भएको हो, तपाईंहरू फेरि पनि मिलेर अगाडि बढ्नु पर्छ । मेरो उपस्थितिमा तपाईंहरू दुई अध्यक्षबीच नयाँ सहमति गरौं ।

दुई–भदौमा भएको सहमति अनुसार तपाईंले सम्पूर्ण रुपमा कार्यकारी अध्यक्षको भूमिका खेल्नुहोस् । सबैलाई सहमतिमा लिएर बैठक राख्नेदेखि पार्टीका सबै जिम्मेवारी तपाईं नै सम्हाल्नुस् । त्यसको ग्यारेन्टि म गर्छु । ओलीले सरकार चलाउनु हुन्छ ।

तीन–अबको एक वर्षपछि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् । तपाईंकै नेतृत्वमा चुनाव गराऔं ।
चार– महाधिवेशनपछि तपाईं पार्टीको एकल अध्यक्ष बन्नुहोस् । त्यसमा ओलीको पनि समर्थन रहन्छ ।
राष्ट्रपति भण्डारीलाई प्रचण्डका तीन सुझाव
नेकपाको विवादमा समाधानमा मध्यस्थताको भूमिका खेल्दै आफूलाई चार प्रस्ताप राखेकी राष्ट्रपति भण्डारीलाई नेकपा अध्यक्ष प्रचण्डले विभिन्न तीन सुझाव दिएका छन् । मंगलबार साँझ झण्डै २ घण्टा भएको भेटमा प्रचण्डले नेकपाको विवादमा ओलीकै कारण सिर्जना भएको र भड्खालोमा पुग्न लागेको संकेत गर्दै बरु ओलीलाई नै सम्झाउन आग्रह समेत गरेका छन् ।

भेटमा प्रचण्डले राष्ट्रपति भण्डारीसँग तीन वटा विषयमा बढी केन्द्रित भएर छलफल गरेका थिए । प्रचण्डले राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीका सम्भावित कदम के–के हुन सक्छन् भन्ने बुझ्ने प्रयास गरेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीसँगको संवादमा प्रचण्डले ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरादेखि संसद विघटन सम्मको सम्भावित कदमबारे बुझ्ने प्रयास गरेका थिए । त्यसबाहेक प्रचण्डले केपी ओलीकै कारण विवाद र एकतामा समस्या आएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिल्नुपर्ने सुझाव दिएपछि प्रचण्डले अहिलेसम्म आफूले मात्रै लचिलो बनेको, ओलीबाट साथ नपाएको र मिल्ने आधार पनि सकियो भन्दै ओली नै लचिलो हुनुपर्ने तर्क गरेका थिए । त्यसमा प्रचण्डले ओलीलाई सम्झाई दिन पनि आग्रह गरेका थिए ।

प्रचण्डले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले जे भन्यो त्यही नमान्न पनि आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट निर्णय गरेर ल्याउने सबै निर्णयमा साथ नदिन आग्रह मात्र गरेनन्, घुमाउरो भाषामा आलोचना पनि गरेको स्रोतले बताएको छ ।

प्रचण्डले ओलीलाई एकलव्य बनेर प्रधानमन्त्री हिंडे भने जनताले निकाल्ने आक्रोशबाट के परिस्थिति निर्माण हुन्छ ? र त्यो परिस्थितिको आंकलन गरेर सुझबुझपुर्ण रुपमा सोच्नुपर्ने र बोल्नुपर्ने बेला आएको छ । त्यसमा प्रधानमन्त्री चुकिरहेको भन्दै लामो ब्याख्या समेत गरे ।

त्यतिबेला प्रचण्डले पार्टीले कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने र त्यो भनेको प्रधानमन्त्री ओलीको विकल्पको खोजी नै हो भन्ने शैलीमा भनाइ राखेका थिए । त्यसैले पनि ओलीलाई सम्झाउनुहोस् भनेर राष्ट्रपति भण्डारीलाई प्रचण्डले सुझाव दिएका थिए ।

भेटमा प्रचण्डले राष्ट्रपति भण्डारीलाई ‘तपाईंलाई निर्वाचित गर्ने जनप्रतिनिधि म पनि हो, र म जस्ता धेरै छन्, ती जनप्रतिनिधिको भावनालाई बुझ्नोस्, प्रधानमन्त्री ओलीले जे ल्याए पनि मान्ने काम नगर्नुहोला’ सम्म भनेको स्रोतका दाबी छ ।

त्यही क्रममा प्रचण्डले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीका सबै काममा तपाईंको साथ भए भोलि तपाईविरुद्धमा सडकमा आन्दोलन निस्कियो भने के हुन्छ ? तपाईं सबैको सम्मानित भएर बस्ने कि प्रधानमन्त्रीको निर्णय मात्रै साथ दिने तपाईको रोजाईको विषय हो भन्ने घुमाउरो पारामा धम्कीको भाषा पनि प्रयोग गरेको स्रोतका दाबी छ ।

शितल निवासबाट फर्केपछि प्रचण्डले राष्ट्रपतिसँग भएको छलफलबारे वरिष्ठ नेता माधव नेपाललगायतलाई ब्रिफिङ गरेका थिए । मंगलबार राति करिब ११ बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७