नेकपाको झगडाले राज्य प्रणालीमाथि नै जनता भ्रमित भए : कांग्रेस


प्रकाशित मिति : November 18, 2020

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घर झगडाका कारण अहिलेको राजननैतिक प्रणालीमाथि नै जनता भ्रमित बन्ने अवस्था आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकाले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाश शरणले महतले बताएका छन् ।

सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने बताए । उनले भने, ‘प्रणालीको कुरा होइन् । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ ।

तर त्यो होइन् । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकार लाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन् ।’

उनले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताए । महामारी विरुद्धको लडाइँमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण–व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताएका छन् ।

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताए । संघ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उनले बताए । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताए ।

उनले भने, ‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन् ।’

प्रतिक्रिया दिनुहोस्